कन्चनपुर ।नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला पन्तका हत्यारा जोसुकै भए पनि कारबाहीको दायरामा ल्याएरै छाड्ने प्रतिबद्धता जनाएका छन् । कञ्चनपुर आइपुगेका खनालले आइतबार नागरिक संघर्ष समितिका पदाधिकारीसँग छलफल गर्दै सो प्रतिबद्धता जनाएका हुन् । १३ वर्षीया बालिका निर्मलाको हत्या भएयता उनी दोस्रापटक आइतबार कञ्चनपुर आएका हुन् ।
पछिल्लो अवस्थाको स्थलगत अध्ययन
महानिरीक्षक खनालले निर्मला हत्याकाण्डको पछिल्लो अवस्थाको स्थलगत अध्ययन गरेका छन् । जिल्ला प्रहरी कार्यालयमा उनले अधिकारकर्मीलगायत आन्दोलनमा होमिएको नागरिक संघर्ष समितिका पदाधिकारीसँग छलफल गरे । खनालले निर्मला हत्याकाण्ड अनुसन्धानका लागि प्रहरीले हदैसम्म खटिएर काम गरिरहेको विश्वास दिलाए । ‘हामीले कुनै पनि पाटोबाट अनुसन्धान गर्न छाडेका छैनौँ,’ खनालले भने, ‘हामी अहोरात्र अनुसन्धानमै खटिएका छौँ, सबै पाटोबाट अनुसन्धान जारी छ ।’
शंकाको दायरामा आएका व्यक्ति साना वा ठूला किन नहुन्, सबैमाथि अनुसन्धान अघि बढाइएको उनले बताए । ‘हत्यारा जोसुकै किन नहुन्, अपराधमा संलग्न भएका छन् भने उनीहरूलाई कारबाही गरेरै छाड्छौँ,’ महानिरीक्षक खनालले भने, ‘अपराधमा संलग्न भएका व्यक्ति ठूलाबडा भन्ने म सोच्दै सोच्दिनँ, संलग्न सबै अपराधी नै हुन् ।’ खनालले प्रदीप रावल र विशाल चौधरीलाई यातना दिँदै नदिएको स्पष्ट पारे । ‘हामी टर्चर गर्दैनौँ,’ उनले भने, ‘विभिन्न विधि प्रयोग गरिएपछि केही नआए सोधपुछ मात्रै गर्छौं ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।