प्रदेश कमिटीको हेरफेर गर्ने



काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको कार्यदलले प्रदेश कमिटीको नामावली हेरफेर गर्नेदेखि जिल्ला एकीकरण र केन्द्रीय सदस्यहरूको कार्यविभाजनसम्मको ठोस प्रस्ताव तयार पार्ने भएको छ । संगठनात्मक एकता तथा एकीकरणका सम्बन्धमा गृहकार्य गर्न गत १२ पुसको स्थायी समिति बैठकले शक्तिशाली कार्यदल गठन गरेको हो । प्रदेश कमिटीको एकीकरणमा मापदण्ड पूर्ण रूपमा पालना नभएको, जिल्ला र जनसंगठनको एकीकरणमा ढिलाइ भएको भन्दै नेतृत्वको आलोचना भएपछि बैठकले पुस मसान्तभित्र एकीकरण सक्ने गरी प्रस्ताव तयार पार्न कार्यदल बनाएको हो ।

कार्यदलमा तीन समूहको प्रतिनिधित्व
९ सदस्यीय कार्यदलमा रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, योगेश भट्टराई, बेदुराम भुसाल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, लेखराज भट्ट, वर्षमान पुन र रघुवीर महासेठ सदस्य छन् । यीमध्ये पौडेल, पोखरेल र महासेठ अध्यक्ष ओलीनिकट हुन् । थापा र भट्टले पूर्वमाओवादी समूहको प्रतिनिधित्व गर्छन् भने भट्टराई, भुसाल र पाण्डे वरिष्ठ नेता माधवकुमार नेपालनिकट छन् ।

दश दिनभित्र एकीकरणको ठोस प्रस्ताव
कार्यदललाई कम्तीमा दश दिनभित्र एकीकरणको बाँकी कामको मापदण्ड र आधारसहित पुस मसान्तभित्र स्थायी समितिबाट निर्णय गर्न मिल्ने गरी ठोस प्रस्ताव तयार पार्ने जिम्मेवारी दिइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । ‘आजको दिनबाट पुस मसान्तभित्र स्थायी समितिबाट निर्णय गर्न मिल्ने गरी एकीकरणको प्रस्ताव तयार पार्ने जिम्मेवारी कार्यदललाई दिइएको छ,’ श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘प्रदेश कमिटीहरूमा कति छन्, यसअघि तय गरिएको मापदण्डअनुसार नामावली छ कि छैन, कतिपय नाम परिवर्तन गर्न मिल्छ कि मिल्दैन, सबै हेरेर सुझाबसहितको प्रतिवेदन कार्यदलले बुझाउनेछ ।’ अध्यक्षद्वय केपी ओली र प्रचण्डलाई प्रतिवेदन बुझाएपछि एकीकरणको ठोस प्रस्ताव सचिवालय हुँदै पुस मसान्तभित्र स्थायी समितिबाट निर्णय गर्ने नेकपाको तयारी छ । राजनीतिक प्रतिवेदन भने परिमार्जनसहित अध्यक्षद्वयले सचिवालयमा प्रस्तुत गरेपछि पास गर्ने तयारी छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्