काठमाडौंको तापक्रम शून्यमा झर्‍यो



काठमाडौं उपत्यकाको न्युनतम तापक्रम शून्यमा झरेको छ । मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान ८ः४५ मा गरेको रेकर्डअनुसार काठमाडौं उपत्यकाको तापक्रम ०.५ डिग्री सेल्सियस छ । तापक्रम घट्ने क्रम जारी रहने भएकाले चिसो अझै बढ्ने अनुमान मौसमविदको छ ।

मौसमविद् समिर श्रेष्ठ प्राकृतिक कारणसँगै जम्मु कास्मिरबाट नेपालतर्फ बहेको चिसो वायुले तापक्रम घटेको बताउँछन् । ‘हिउँद महिना चिसो हुनु प्राकृतिक कारण नै हो’, श्रेष्ठले भने, ‘तर देशभरी चिसो हृवात्तै बढ्नुमा जम्मु काश्मिरबाट नेपालतर्फ बहेको चिसो वायु बढी जिम्मेवार छ ।’

उनले यसबाहेकका सहायक कारणले पनि चिसो बढाइरहेको बताए । काठमाडौं उपत्यकाको तापक्रम निरन्तर ओरालो लागे पनि यस वर्ष माइनसमा झर्ने सम्भावना नरहेको मौसमविदको भनाइ छ ।

मौसमविद् श्रेष्ठ तापक्रम कतिसम्म पुग्छ भनेर अनुमान गर्न कठिन भए पनि यस वर्ष माइनसमै जाने सम्भावना कम रहेको बताउँछन् । ‘तापक्रम कतिसम्म पुग्छ भनेर अनुमान गर्न त सकिन्न ।

तर, विगतको इतिहास र यस वर्षको मौसम नियाल्दा काठमाडौंको तापक्रम माइनसमै झर्ने सम्भावना कम देखिन्छ,’ उनले भने ।

मंगलबार र बुधबार वर्षाको सम्भावना

यसैबीच, मंगलबार र बुधबार देशका केही स्थानमा पानी पर्न सक्ने अनुमान मौसमविदहरुले गरेका छन् । मंगलबार पहाडी भेगमा आंशिकदेखि सामान्य बदली भई विशेषतः पश्चिमी पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद श्रेष्ठले बताए ।

बुधबार दिउँसो देशको पश्चिम तथा मध्य क्षेत्रका केही स्थानहरुमा हल्का वर्षा हुने र उच्च हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपात पनि हुने सम्भावना छ ।

यसैगरी बुधबार राति देशका अधिकांश स्थानहरुमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्का वर्षा हुने मौसमविदको पूर्वानुमान छ ।

‘तराईमा शीतलहर छैन’

मौसम पूर्वानुमान महाशाखाका अनुसार, अहिले देशकै सबैभन्दा बढी चिसो जुम्लामा छ । सोमबार बिहान ८ः४५ मा गरिएको रेकर्डअनुसार जुम्लाको न्यूनतम तापक्रम माइनस ५ डिग्री मापन भएको छ ।

दिउँसोको समयमा भने यहाँको तापक्रम बढ्ने गरेको छ । महाशाखाले दिउँसो यहाँको अधिकतम तापक्रम १४।४ पुग्ने प्रक्षेपण गरेको छ ।काठमाडौं र दिपायलमा पनि चिसोको मात्रा करिब करिब उस्तै छ ।

दिपायलको न्युनतम तापक्रम १.५ डिग्री सेल्सियस छ । सुर्खेत सदरमुकाम वीरेन्द्रनगरको न्यूनतम तापक्रम २.८ छ ।देशका धेरैजसो क्षेत्रको न्युनतम ताक्रम ४ र ५ डिग्री सेल्सियसको बीचमा छ । ओखलढुंगामा ७ र धनकुटामा भने ६.६ डिग्री सेल्सियस छ ।

विगत वर्षहरुमा तराई तथा मधेसमा पुस शुरु भएदेखि नै शीतलहर चल्ने गरेको थियो । यसकै कारण कैयनको ज्यानसमेत जाने गरेको थियो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, तराई तथा मधेसमा यस वर्ष शीतलहर अझै सुरु भइसकेको छैन । बाक्लो हुस्सु लागे पनि शीतलहर भइनसकेको मौसमविद् श्रेष्ठको भनाइ छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्