जब १० कक्षामा पुगेर मुख्यमन्त्रीले पढाउन थाले…………….



लमही । बिहान १० बजेको थियो । अन्य दिनजस्तै आज पनि तुलसीपुर उपमहानगरपालिका–७ मा रहेको मावि कालाखोलाका विद्यार्थी प्रार्थना गरिरहेका थिए । त्यतिबेला प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, प्रदेशसभा सदस्य उत्तरकुमार वली, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलगायत अन्य अतिथि विद्यालयमा पुगे ।

विद्यार्थी प्रार्थना गरिरहेकै बेला औपचारिक कार्यक्रमको आयोजना गरियो । अनि शुरु भयो प्रदेश नं ५ को कार्यक्रम ‘विद्यालयमा एक दिन/ कक्षा कोठामा एक दिन ।’

औपचारिक कार्यक्रम पश्चात मुख्यमन्त्री पोखरेलले कक्षा १० ‘ए’मा पढाउन शुरु गरे भने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले कक्षा १० को ‘बि’ र प्रदेशसभा सदस्य उत्तर कुमार वलीले कक्षा ८ मा पढाए । उहाँहरुले करीब ९० मिनेट विद्यार्थीलाई पढाए ।
प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय गरेर विद्यालय र समुदायको सम्बन्धलाई थप समधुर बनाउन बनाएको योजना अनुसार प्रदेश नं ५ मै पहिलो पटक तुलसीपुर उपमहानगरपालिकाबाट उक्त कार्यक्रमको शुरुवात भएको हो ।

सोही अनुसार अब विद्यालयमा सबै अभिभावक वर्षमा एक दिन विद्यालय आउने कार्यक्रमको शुरुआत भएको मुख्यमन्त्री शङ्कर पोख्रेलले बताए । ‘अब सबै अभिभावक वर्षमा एक पटक विद्यालय आउने र पढाउन सक्ने अभिभावकले पढाउनुहुन्छ, अन्य प्रतिभा भएका अभिभावकले प्रतिभा देखाउनुहुन्छ’ उनले भने ‘यसरी अभिभावक विद्यालय आएमा विद्यालयलाई व्यवस्थित गर्न अपनत्व महसुस हुन्छ ।’ यसरी अभिभावकले सामुदायिक विद्यालयमा आएर लगानी गरेमा सामुदायिक विद्यालयप्रति आकर्षण बढाउन सकिने उनको भनाइ थियो ।

समुदायले नै निर्माण गरेका सामुदायिक विद्यालयमा अभिभावकको लगाव घट्दै गइरहेको भन्दै त्यसलाई जोड्न यो कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने मुख्यमन्त्री पोखरेलको भनाइ थियो । तुलसीपुर उपमहानगरपालिकाबाट शुरु भएको भन्दै यो अभियान प्रदेशका सबै सामुदायिक विद्यालयमा पुर्‍याइने मुख्यमन्त्री पोख्रेलले बताए । ‘सामुदायिक विद्यालयको अवस्था सुधार गर्न अभिभावक, शिक्षक र विद्यार्थीको भूमिका पनि उत्तिकै हुन्छ, यसमा सबैले ध्यान दिनुपर्छ’, उनले भने ।

सामुदायिक विद्यालयको स्रोतसाधन धेरै भए पनि निजी विद्यालयप्रति अभिभावक र विद्यार्थीको आकर्षण बढेको भन्दै सामुदायिक विद्यालयमा विद्यार्थीलाईं आकर्षणको केन्द्र बनाउनुपर्ने समेत मुख्यमन्त्री पोख्रेलको भनाइ थियो ।

उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले शिक्षाको गुणस्तरीय वृद्धि गर्न यो कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । विद्यार्थीको कमी भएका विद्यालयमा सङ्ख्या बढाउने उनको भनाइ थियो । नगरप्रमुख पाण्डेले तुलसीपुरका सबै विद्यालयलाई नमूना र सबै विद्यार्थीलाई सक्षम बनाउने बताए ।रासस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्