पोलिटब्युरो गठन गर्न प्रचण्डको निर्देशन



काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ले संगठनात्मक एकीकरण कार्यदललाई केन्द्रीय सदस्यहरूको कार्यविभाजनसँगै पोलिटब्युरो गठनको गृहकार्य गर्न पनि निर्देशन दिएका छन् ।  प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार कार्यदल सदस्यहरूलाई काम तत्काल सुरु गर्न निर्देशन दिँदै उनीहरूले एकीकरण र कार्यविभाजनका बाँकी सबै संगठनात्मक कामको म्यान्डेट रहेको बताए ।

‘उहाँले स्थायी समितिको म्यान्डेटअनुसार पोलिटब्युरो र केन्द्रीय विभागहरूको गठन, केन्द्रीय सदस्यहरूको कार्यविभाजन, जिल्लाका पदाधिकारीहरू चयनको गृहकार्य गरेर प्रस्ताव तयार पार्ने अधिकार कार्यदललाई रहेको व्याख्या गर्नुभयो,’ अध्यक्ष प्रचण्डलाई उद्धृत गर्दै कार्यदल सदस्य लेखराज भट्टले भने, ‘उहाँहरूले पुस मसान्तभित्र एकीकरणको खाका तयार भइसक्ने गरी छिटो काम गर्न निर्देशन दिनुभएको छ ।’एकीकरणको ढिलाइले संगठनात्मक काममा शून्यता देखिएको भन्दै अध्यक्ष ओलीले छिटो काम सक्न सदस्यहरूलाई निर्देशन दिएका छन् । उनको यस्तो निर्देशनपछि प्रचण्डले स्थायी समितिले दिएको म्यान्डेटबारे व्याख्या गरेको भट्टले बताए ।

१२ पुसको स्थायी समिति बैठकले कार्यदल गठन गरेको थियो । ९ सदस्यीय कार्यदलमा रामबहादुर थापा‘बादल’, विष्णुप्रसाद पौडेल, योगेश भट्टराई, बेदुराम भुसाल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, लेखराज भट्ट, वर्षमान पुन र रघुवीर महासेठ सदस्य छन् । २९ मंसिरबाट १२ पुससम्म चलेको स्थायी समिति बैठकमा पोलिटब्युरो गठनविनै केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्नु उपयुक्त नहुने भन्दै वरिष्ठ नेता माधवकुमार नेपालनिकट नेताहरूले विरोध गरेका थिए । पहिले पोलिटब्युरो गठन गरेर उनीहरूलाई वरिष्ठताका आधारमा जिल्ला इन्चार्जको जिम्मेवारी दिनुपर्ने सुझाब स्थायी समितिमा धेरैले दिएको एक नेताले बताए । निर्वाचन क्षेत्र हेर्ने गरी आवश्यकताअनुसार दुईभन्दा बढी केन्द्रीय सदस्यलाई सहइन्चार्जको जिम्मेवारी दिँदा उपयुक्त हुने सुझाब पनि उनीहरूको थियो ।

कार्यदलले नै कार्यविधि बनाउने
एकीकरणको बाँकी काम र कार्यविभाजन टुंगो लगाउन कार्यदलले नै कार्यविधि र मापदण्ड बनाउने भएको छ । स्थायी समितिले दिएको म्यान्डेटका आधारमा कसरी काम सुरु गर्ने विषयमा छलफल गरेर कार्यदलले कार्यविधि बनाउने नेता बेदुराम भुुसालले बताए । ‘अध्यक्षज्यूहरूले बोलाएर सकेसम्म छिटो सकिनेगरी काम प्रारम्भ गर्न निर्देशन दिनुभएको छ,’ भुसालले नयाँ पत्रिकासँग भने, ‘कार्यदल आफैँले काम कसरी सुरु गर्ने, एकीकरणको मापदण्ड कस्तो बनाउने भन्नेबारे कार्यविधि र मापदण्ड तयार गरेर गृहकार्य गर्नेछ ।’ पुस मसान्तभित्र एकीकरणको खाका तयार भएपछि माघको दोस्रो साताभित्र स्थायी समिति र केन्द्रीय कमिटी बैठक आयोजना गर्ने नेकपाको योजना छ । सबै काम सकिएपछि फागुन र चैत दुई महिना संगठनात्मक काममा देखिएको गतिशून्य अवस्था चिर्ने गरी देशव्यापी अभियान चलाइने नेताहरूले बताउँदै आएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्