कार्यालयमा गर्नुहोस् यस्तो व्यायाम, हुनेछ ‘चमत्कार’



काठमाडौं- अफिसमा घन्टौं काम गर्दा शरीरका विभिन्न अंगहरूमा पीडा हुन्छ । यसलाई लामो समय बेवास्ता गर्दा गम्भीर रोग पनि लाग्न सक्छ ।

अफिसमा कम्प्युटरमा काम गर्दा गर्दा कहिलेकाहीँ कुर्सीबाट उठ्न पनि भ्याइँदैन ।

कार्यालयमा कुर्सीमा बसेर लगातार आठ घन्टा काम गर्दा गर्दन, काँध र कम्मर दुख्ने समस्या आउँछ । आराम गर्नुपर्छ भन्यो भने अफिसमा काम गर्नेहरू काम गर्नु कि आराम भनी ओठेजवाफ फर्काउँछन् । तर स्वस्थ रहनुछ भने आराम अनि १० मिनेट जतिको व्यायाम गर्नैपर्छ ।

आफ्नो शरीरका लागि दिनको दश मिनेट समय पनि नदिने त तपाईंले ? रोग लगाएर खर्च बढाउनुभन्दा त व्यायाम गरेर रोग नै लाग्न नदिने स्थिति ल्याउनु राम्रो हुन्छ ।

सही बसाइ
अफिसको कुर्सीमा बस्ने तरिका नै सबै समस्याको जरो हो । काम गर्दा काँध र कम्मर झुकाउनेगरी बस्दा काँध, गर्दन र मेरुदण्डको हाडका समस्या आउन थाल्छ । त्यसैले बीचबीचमा उठ्ने र बस्दा पनि शरीर सिधा राख्ने बानी बसाल्नुस् ।

अनुहार र आँखा
आँखाको नानीलाई दायाँबायाँ, तलमाथि अनि गोलो गरी घुमाउनुस् । अनि दश सेकेन्डसम्म छतमा हेरिरहनुस् । त्यसपछि भुइँमा हेर्नुस् अनि अलि परको भित्तोमा हेर्नुस् । त्यसपछि आधी मिनेटका लागि आँखा बन्द गर्नुस् । अब हत्केला घोटेर तताउनुस् र आँखामाथि १० सेकेन्डसम्म राख्नुस् । हत्केलालाई आँखा र अनुहारमा दल्नुस् । यसो गर्दा थाकेका आँखा र सुस्त भएको अनुहार ताजा हुन्छ ।

मुख र कान
मुख फुलाएर हावा भर्नुस् अनि हावालाई केही सेकेन्डसम्म दायाँबायाँ घुमाउनुस् । त्यसपछि पाँचचोटि मुख खोल्ने र बन्द गर्ने गर्नुस् ।

दुवै कानलाई माथि र तल तीनचोटि तान्नुस् । हातका दुई औंलाहरूलाई कैंची जस्तो बनाएर कानमा घोट्नुस् । यसो गर्दा तपाईंको आलस्य पनि भाग्छ ।

गर्दन
कुर्सीमा बसीबसी आफ्नो गर्दनलाई १५ सेकेन्डसम्म माथि अनि अर्को १५ सेकेन्डसम्म तल पार्नुस् । त्यसपछि गर्दनलाई दाहिनेतर्फ घुमाएर बिस्तारै देब्रेतर्फ घुमाउनुस् । यो प्रक्रिया दोहो–याइरहनुस् । यसो गर्दा गर्दन अररो हुन पाउँदैन ।

कम्मर
दाहिने गोडालाई देब्रे गोडामा क्रस गरेर बस्नुस् र कम्मरलाई विपरीत दिशामा घुमाउनुस् । त्यसैगरी देब्रे गोडालाई दाहिने गोडामा क्रस गर्नुस् । कम्मरलाई पछिल्तिर पनि झुकाउनुस् । यसो गर्दा कम्मर अररो हुन पाउँदैन ।
व्यायाम गर्नु र अफिसमा फिट बस्नु अत्यन्तै महत्त्वपूर्ण छ । तर कुनै पनि व्यायाम बिस्तारै गर्नुपर्छ । हतारहतारमा व्यायाम नगर्नुस् । व्यायामले नै थाकिने स्थिति आउन नदिनुस् ।

तपाईं चुस्त शरीर चाहनुहुन्छ भने अफिस पुग्नुअघि यसो बिहानीपखको हावा खानुस् । भारी खाना खाएर व्यायाम पटक्कै नगर्नुस् । पानी र ग्रीन टी पिइरहनुस् । सीटमाथि घरिघरि उठ्नुस् ।

यी ससाना व्यायामले तपाईं केही दिनमै हलुका र ऊर्जावान अनुभव गर्न सक्नुहुन्छ ।

एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्