५७ करोड ठगीका आरोपी चार लाख धरौटीमा रिहा



काठमाडौ ।५७ करोड रुपैयाँ बैंकिङ ठगीका आरोपी सामान्य धरौटीमा छुटेका छन् । तत्कालीन किस्ट बैंकका कर्मचारी तथा ऋणीहरूलाई उच्च अदालत पाटनले न्यूनतम धरौटीमा छाड्ने आदेश दिएको हो ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैंकका तत्कालीन कर्मचारी बालनरसिंह घर्ती र प्रगुन श्रेष्ठ तथा ऋणीहरू कुलप्रसाद पोखरेल, प्रमोदकुमार देव र अजयकुमार देवलाई पक्राउ गरी मुद्दा दायर गरेको थियो । उनीहरू गत साता न्यूनतम धरौटीमा छुटेका हुन् ।

घर्तीविरुद्ध ५७ करोड ४४ लाख आठ हजार चार सय ४८ रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर भएको थियो । उनी चार लाख धरौटीमा छुटेका छन् । १६ करोड ७४ लाख २० हजार बिगो दाबीसहित मुद्दा दायर गरिएका ऋणी पोखरेल ५ लाख धरौटी राखेर छुटेका छन् । यस्तै, १६ करोड ८२ लाख ६५ हजार बिगो दाबी गरी मुद्दा दायर गरिएका ऋणीहरू प्रमोदकुमार पाँच लाख र अजयकुमार तीन लाख धरौटीमा छुटेका छन् ।

किस्ट बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) कमलप्र्रसाद ज्ञवालीको नेतृत्वमा बैंकमा अनियमितता भएको थियो । ज्ञवाली दुई महिनाअघि पक्राउ परेपछि सिआइबीले पुरानो घटनाको अनुसन्धान गरी २६ जनाविरुद्ध मुद्दा चलाएको थियो । तीमध्ये पक्राउ गरी ५७ करोड जरिवाना र १० वर्षसम्म कैद सजायको माग दाबी गरिएको मुद्दाका आरोपीहरू न्यूनतम धरौटीमा छुटेका हुन् ।

फिल्म निर्मातासहित २० जना फरार 
सो अनियमिततामा प्रहरीले २६ जनालाई प्रतिवादी बनाएकोमा २० जना अझै फरार छन् । मुद्दा दायर हुनेमा बैंकका कर्मचारी, ऋणी, जमानीकर्ता र धितो मूल्यांकनकर्ता छन् । तत्कालीन सिइओ कमल ज्ञवाली जेलमै छन् । बैंकका तत्कालीन कम्पनीसचिव बालकुमार पाण्डे तथा कर्मचारीहरू विमल सापकोटा, सुनयन श्रेष्ठविरुद्ध मुद्दा लागेको छ । गलत मूल्यांकन गर्ने रोशन इन्जिनियरिङ कन्सल्टेन्सीका सञ्चालक कोमानन्द अधिकारीलाई पनि प्रतिवादी बनाइएको छ । यसअघिका किस्ट बैंकका कर्जा अनियमिततासम्बन्धी मुद्दामा पनि उनकै संलग्नता थियो ।

जमानीकर्ता बसेर कर्जा दुरुपयोग गर्ने मधुसुदन सिलवाल र उनीकी श्रीमती गीता पुरी सिलवालविरुद्ध पनि मुद्दा चलेको छ । एक समयका चर्चित फिल्म निर्माता सिलवाल सिद्धार्थ डेभलपमेन्ट बैंकको अनियमिततामा पनि कमल ज्ञवालीसँगै मुछिएका थिए । त्यस्तै, बैंकका कर्मचारीहरू नन्दराज जोशी, रामधन श्रेष्ठ, ईश्वर गुरुङ, सुमित अर्याल, प्रकाशकुमार सिंह, प्रकाश खतिवडालाई पनि मुद्दा चलाइएको छ । उनीहरू सबै फरार छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्