माघे संक्रान्तिमा २ दिन सार्वजनिक विदा



रुपन्देही । प्रदेश ५ सरकारले माघे सङ्क्रान्तिका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

प्रदेश सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले माघ १ र २ गते दुई दिन बिदा दिने निर्णय गरेको हो। प्रदेशमा मगर र थारु जातिको बाहुल्यता रहेकाले माघे सङ्क्रान्तिका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले जानकारी दिए।

माघीकै अवसरमा पुस ३० गते आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयोजनमा मुख्यमन्त्री शङ्कर पोखरेलको निवासमा शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रमसमेत आयोजना गर्ने निर्णय भएको छ।

प्रदेशस्तरीय नेपाल मगर संघ र थारु कल्याणकारी सभाका पदाधिकारी तथा सदस्यको सहभागिता रहने कार्यक्रममा मगर समुदायमा प्रचलित खानाका परिकार बटुक र बङ्गुर तथा थारु समुदायको प्रचलित खाना ढिकरी, माछा र घोगी खुवाइने प्रवक्ता चौधरीले बताए।

मन्त्रीपरिषद् बैठकले प्रदेशअन्तर्गत रहेको अञ्चल अस्पतालको नामकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रदेशसभामा पेश गर्न सैद्धान्तिक सहमति दिएको छ। सो प्रस्ताव पारित भएपछि बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालको नाम प्रादेशिक लुम्बिनी अस्पताल, लुम्बिनी अञ्चल आयुर्वेद अस्पतालको नाम प्रादेशिक लुम्बिनी आयुर्वेद चिकित्सालय रहनेछ।

त्यसैगरी बैठकले प्रदेश तथ्याङ्क सम्बन्धमा व्यवस्थित गर्न बनेको विधेयक, प्रदेश खानी व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश बालबालिकाको हकअधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ।रासस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्