समाज

आजबाट १६औं पटक अनसन बस्दै डा. गोविन्द केसी

By थाहा अनलाइन

January 02, 2019

काठमाडौं। चिकित्सा शिक्षा सुधारको माग राख्दै १५ पटक अनसन बसेका सामाजिक अभियन्ता डा. गोविन्द केसी बुधबारबाट पुनः अनसन बस्दैछन्। तर यस पटक उनी पूर्वी नेपालको इलाममा बस्न लागेका हुन्। डा. केसीको यो १६ औं अनसन हुनेछ।

माग पुरा गर्नका लागि मंगलबारसम्मको अल्टिमेटम दिएका केसी सरकारले माग पुरा गर्ने छाँट नदेखाएपछि अनसन बस्ने तयारी गरेको मंगलबार उनका सहयोगी अभिषेक राज सिंहले बताएका थिए। उनका अनुसार अनसनका लागि डा. केसी मंगलबार नै इलाम पुगेका पुगेका छन्। डा.केसीले १६ औं अनसनका लागि सरकारसँग ३ बुँदे माग राखेका छन्।

१५ औं सत्याग्रहका क्रममा गत साउन १० गते  सरकारसँग भएको सम्झौता कार्यान्वयन गर्न, सम्झौता बमोजिम अक्षरस चिकित्सा विधेयक संशोधन गरेर संसदबाट चिकित्सा शिक्षा ऐन पारित गर्न उनले माग गरेका छन्। यस्तै सातै प्रदेशमा मेडिकल कलेज खोल्ने काम अघि बढाउन, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको भर्ना अविलम्ब खोल्न माग गरेका छन्।

 

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनअनुसार दोषी ठहर देखिएका त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई बर्खास्ती गर्न पनि उनले माग गरेका छन्।

दोस्रो मागमा केसीले निर्मला पन्तको बलाकार बलात्कार र हत्यामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी मुद्दा चलाउन माग गरेका छन्। त्यस्तै प्रमाण नष्ट गर्ने, झुटा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्तिमाथि गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरूमाथि तत्काल फौजदारी मुद्दा चलाउन पनि माग गरेका छन्।

तेस्रो बुँदामा केसीले सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारबाही गर्न माग गरेका छन्।