चुरोट नपिउने कर्मचारीलाई यो कम्पनीले दिन्छ छुट्टी



काठमाडौं — धूम्रपान गर्ने व्यक्तिलाई मात्र नभई उसले उडाएको धूवाँलाई सासभित्र लिने व्यक्तिलाई पनि स्वास्थ्यमा निकै हानि गर्छ । त्यसैले धूम्रपानविरुद्ध धेरै देशका सरकारले विज्ञापन बनाइरहेका हुन्छन् अनि सूर्तीजन्य पदार्थमा कर लगाएर महंगो बनाइरहेका छन् ।

यति हुँदाहुँदै पनि संसारमा धेरै मानिस धूम्रपान गरिरहेका हुन्छन् ।

जापानको एक मार्केटिङ कम्पनी पिआला इन्कले आफ्ना कर्मचारीहरूलाई धूम्रपान छोडेर थप राम्रो जीवनशैली अपनाउनका लागि प्रेरित गर्न धूम्रपान नगर्ने कर्मचारीलाई वर्षको ६ दिन अतिरिक्त छुट्टी दिने निर्णय लिएको छ ।

कम्पनीले यस्तो फैसला किन गरेको हो ? कम्पनीका नन स्मोकर कर्मचारीले के गुनासो गरे भने चुरोट पिउने साथीहरूले घरिघरि ब्रेक लिइरहेका छन् जसले गर्दा काममा असर पर्ने गरेको छ ।

कम्पनीले आफैं हिसाब निकाल्दा चुरोटे कर्मचारीले दिनमा अरूभन्दा १५ मिनेट बढी ब्रेक लिने गरेको पाइयो । कम्पनी २९औं तल्लामा छ र चुरोट पिउनका लागि कर्मचारीहरू स्मोकिङ रूममा जाँदा वा भुइँतल्लामा पुग्दा समय खर्च भइरहेको रहेछ ।

त्यसैले गर्दा कम्पनीले चुरोट नपिउने कर्मचारीलाई वर्षको ६ दिन बढी छुट्टी दिने निर्णय लियो ।

कम्पनीका ३५ प्रतिशत कर्मचारीले धूम्रपान गर्थे । बढी छुट्टी पाइने प्रलोभनमा तीमध्ये चार कर्मचारीले धूम्रपान नै छोडिदिए ।

जापानमा १८ प्रतिशत जनसंख्याले चुरोट पिउने गरेको छ । अन्लाइन रिपोर्टहरू पत्याउने हो भने हरेक वर्ष एक लाख ३० हजार मानिसको मृत्यु धूम्रपानका कारण भइरहेको छ ।

यस्तो स्थिति रहेकाले जापान सरकारले धूम्रपानको बानी छुटाउनका लागि विभिन्न प्रयास गरिरहेको छ ।

एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्