सारा अली खान बन्ने भइन् वरुण धवनकी जोडी



फिल्म ‘एबीसीडी ३’ चर्चा यतिखेर बलिउडमा चुलिएको छ ।  अभिनेतृ कट्रिना केफले अन्तिम समयमा आएर फिल्म छोडेपछि निर्माताहरु अभिनेतृको खोजीमा लागेका थिए । यस फिल्मका लागि अभिनेतृ ज्याकलिन फर्नान्डिस, श्रद्धा कपूर र कृति सेनन लगायतका अभिनेतृको नाम चर्चामा आएको थियो ।

साथै यसअघि ‘एबीसीडी २’ मा अभिनय गरिसकेकी अभिनेतृ श्रद्धा कपूरलाई फाइनल गरिएको खबरहरु सार्वजनिक भएका थिए । तर अहिले यस फिल्मको मुख्य अभिनेतृका लागि सारा अली खानसँग कुराकानी भइरहेको खबर सार्वजनिक भएको छ ।

यसअघि फिल्ममा वरुण धवन मुख्य अभिनेता तथा अभिनेतृ कट्रिना केफ मुख्य अभिनेत्री हुने बताइए पनि कट्रिनाले अभिनेता सलमान खानको फिल्म ‘भारत’ को छायाँकनको व्यस्तताका कारण ‘एबीसीडी ३’ छोड्ने निर्णय लिएकी थिइन् ।

रेमो डिसुजाको निर्देशनमा २२ जनवरीदेखि पञ्जाबमा अमृतसरबाट फिल्म ‘एबीसीडी ३’ को छायाँकनको काम सुरु गरिनेछ । यसपछि फिल्मको छायाँकनको लागि फिल्म यूनिट लण्डन जानेछन् । वर्ष २०१९ को नोभेम्बर ८ मा रिलिज हुने बताइएको यस फिल्ममा वरुण धवनका साथै कोरियोग्राफर प्रभु देवा, राघव जुयाल, धर्मेश र पुनीत पाठकको मुख्य भूमिका हुनेछ ।

अभिनेतृ सारा अली खानले २०१८ मा फिल्म ‘केदारनाथ’ बाट बलिउड डेब्यू गरेकी थिइन । यस फिल्ममा अभिनेता सुशान्त सिंह राजपुतले उनलाई साथ दिएका थिए । पहिलो फिल्मबाटै दर्शकको मन जित्न सफल साराको दोस्रो फिल्म ‘सिम्बा’ले यतिबेला शानदार व्यापार गरिरहेको छ । यस फिल्ममा सारा अली खान अभिनेता रणवीर सिंहको जोडीको रुपमा देखिएकी छिन् ।

केही समय अघि साराले करण जोहरको चर्चित शो ‘कफि विद् करण’ मा अभिनेता वरुण धवनको जोडीको रुपमा काम गर्ने इच्छा रहेको बताएकी थिइन् । अहिले सार्वजनिक खबर अनुसार सारा अली खानको त्यो चाहना छिट्टै नै पूरा हुने देखिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्