काठमाडौँ– सस्तो मूल्यमा सुन दिन्छु भनी नक्कली सुन दिइ रु ४० लाख ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले एक किलो नक्कली सुन दिइ उक्त रकम ठगी गरेको अनुसन्धानमा खुल्न आएको जनाइएको छ ।
यसरी पक्राउपर्नेमा काठमाडौँ टोखा नगरपालिका बस्ने सुनसरीका पवन विक, धनुषा जनकपुर नगरपालिकाका मनिष ढुङ्गाना, काठमाडौँ काँडाघारी बस्ने सर्लाहीका विवेक दनुवार, सर्लाही लालबन्दीका रोहित मगर र पूर्णबहादुर पुलामी छन् ।
यस्तै काठमाडौ बौद्ध बस्ने धनकुटाका शलिना शर्मा र सङ्गीता राई, काठमाडाैं बौद्ध बस्ने पर्साका सन्तोषकुमार लामा, काठमाडाैं तारकेश्वर नगरपालिका बस्ने रौतहटका समीर लामा, काभ्रेपलाञ्चोकका मनोज लामा, बाराका सुरेश राई र निजगढका सागर राईलाई समेत पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले बिहीवार जानकारी दिएको छ ।
उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले विभिन्न ठाउँबाट पक्राउ गरेको हो । सो घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।