राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको चरम शूल्कबृद्धि



दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले चरम शूल्कबृद्धि गरेको छ । प्रतिष्ठानले सूचना टाँस गरी गत मंगलबारदेखि शूल्कबृद्धि गरेको हो ।बिरामी भर्ना शुल्कमा रु. २५ बाट रु. १ सय पुर्याइएको छ, भने आकस्मिक बिरामी भर्ना शुल्कमा रु. २५ बाट रु. २ सय पु¥याइएको छ । साथै सुत्केरी महिलाहरुले प्रसुती गराएवाफत् सुत्केरी खर्च प्राप्त गर्दै आएकोमा उल्टो रु. ७ हजारदेखि रु. १२ हजार पु¥याएको छ । स्वास्थ्य शुल्क बृद्धि गर्ने निर्णयका बिरुद्ध चौतर्फि बिरोध भएको छ । अस्पतालमा गुणस्तरिय तथा प्रभावकारी सेवा नहुँदै जनतालाई मारमा पार्ने गरी भएको शुल्क बृद्धिको निर्णय फिर्ता गर्न जिल्लास्थित सम्बद्ध निकायहरुले आग्रह गरेका छन् ।

 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सरोकार समितिले विज्ञप्ति नै जारी गरेर तत्कालको सेवा सुविधाकै अवस्थामा शुल्क बृद्धि गर्नु गलत भएको बताएको छ । तत्कालिन राप्ती उपक्षेत्रीय अस्पतालले दिँदै आएको सेवा सुविधामा गरेको कटौतिको कुराले सरोकार समितिको ध्यानाकर्षण भएको जनाएको छ । ‘अहिलेकै सेवा सुविधाको अवस्थामा शुल्क बृद्धि र पाई आएको सुविधा कटौतिले प्रतिष्ठानप्रति नै नकारात्मक भावना बृद्धि हुने भएकाले शुल्क बृद्धि नगर्न र पाई आएको सेवा सुविधा कायम गराउन जोडदार माग गर्दछौं’, संयोजक नारायण भुसालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिष्ठानको विषयमा प्रतिनिधि सभा सदस्य सांसद मेटमणि चौधरीले कुरा उठाउँदै शुल्क बृद्धिको बिरोध गर्नुभयो । सरकारले स्वास्थ्य सेवालाई भरपर्दो, सर्वसुलभ र निःशुल्क बनाउने घोषणा गरेपनि दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले खिल्ली उडाएको बताउनुभयो । ‘प्रतिष्ठानको कुरा चल्दै गर्दा दाङमा निक्कै उत्साह थियो, आफ्नै जिल्लामा एमविविएसको पढाई हुने र सबै खाले उपचार पाउने भएपछि खुसीले गदगद भएका दङाली जनताको खुसी ठिक उल्टो डिग्रीमा फन्को मारेको छ’, चौधरीले भन्नुभयो, ‘भिसि डा. संगीता भण्डारीको दादागिरीका कारण कर्मचारी समेत आतंकित अवस्थामा छन्, साउन महिनादेखि तलव खान पाएका छैनन्, पोषणगृह बन्द छ, तर सेवा शुल्कमा तेब्बर शुल्क बृद्धि गरेर जनताको ढाड सेक्ने काम भएको छ ।’

सरकारको नारालाई च्यालेन्स गर्ने गरी बृद्धि गरिएको प्रति सांसद चौधरीले बिरोध गर्नुभयो । दङाली जनतालाई अभिशाप हुने कुनै पनि प्रतिष्ठान नचाहिने उहाँको भनाई छ । जनतालाई निःशुल्क र सर्वशुलभ स्वास्थ्य सेवा प्रदान गर्नका लागि प्रतिष्ठान चाहिएको भन्दै कसैको नियुक्ति गर्नका लागि प्रतिष्ठान आवश्यक नभएको उहाँको भनाई थियो ।

प्रतिष्ठानको कदम विरुद्ध नेकपा दाङ, राष्ट्रिय जनमोर्चा दाङ र नागरिक समाज दाङले समेत विज्ञप्ति जारी गरेर बिरोध जनाएका छन् । साथै सांसद रेखा शर्माले सञ्चार माध्यममार्फत् शुल्क बृद्धि फिर्ता लिन आग्रह गर्नुभएको छ, भने मुख्यमन्त्री शंकर पोख्रेलले समेत शुल्क बृद्धि नबढाउन आग्रह गर्नुभएको थियो ।प्रतिष्ठानले गरेको शुल्क बृद्धिको निर्णय तत्काल फिर्ता लिई नेपाल सरकारले निःशुल्क उपलब्ध गराएका सेवा तथा सुविधाहरु निःशुल्क प्रवाह गर्न र अन्य सेवा सुविधाहरुमा नेपाल सरकारले निर्धारण गरेको मापदण्डको परिधिभित्र रहि गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङसँग नागरिक समाजले अनुरोध गरेको छ । प्रतिष्ठानले प्रवाह गरेका सेवा सम्बन्धमा नागरिक समाजले नियमित रुपमा अनुगमन गर्ने निर्णय समेत गरेको छ ।

राष्ट्रिय जनमोर्चा दाङले राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठानले चर्को शुल्क बृद्धि गर्नुका साथै पाउँदै आएको सेवासमेत कटौती गरेकाले सेवा कटौती होइन पाउदै आएको सेवालाई निरन्तरता दिनुका साथै थप सेबा सुबिधा थप्नुपर्ने र बढेको सुक्ल तत्काल फिर्ता गर्न माग गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्