शिक्षा

ओलीको नेतृत्वमा आन्दोलन परिचालन समिति

By थाहा अनलाइन

January 04, 2019

शिबराज पन्थी , गढवा । शिक्षा ऐनको दशौं संसोधन पुर्ण रुपमा कार्यान्वयन गरिनु पर्ने, सुविधा लिन चाहाने शिक्षकहरुलाई एकमुष्ठ रकम दिनुपर्ने र सेवालाई निरन्तरता दिन चाहाने शिक्षकहरुलाई समुचित ब्यवस्थापन गर्नुपर्ने भन्दै बुधवार घोराहीमा जिल्लाभरका अस्थायि शिक्षकहरुको भेला सम्पन्न भएको छ ।

भेलाले शिक्षकहरुका मागलाई शसक्त ढंगले जिल्ला, प्रदेश र केन्द्रमा पुर्याउन र सरकारको ध्यानाकर्षण गराउन बिरेन्द्र ओलीको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरेको छ ।

जसको उपाध्यक्षमा तिलक हमाल, सचिवमा चेतनाथ पौडेल, कोषाध्यक्षमा मिना शाह र सहसचिवमा दिनेश पोखे्रल रहनुभएको छ भने सदस्यहरुमा आत्माराम पाण्डेय, हेमबहादुर थापा, कृष्ण प्रसाद शर्मा, द्रोण बहादुर थापा, नन्दकुमार यादव र सिता चौधरी रहनु भएको छ । भेलाले यहि पौष २८ गते जिल्ला स्तरिय बृहत भेलाको आयोजना गरेको छ ।

सो कार्यक्रममा अतिथीको रुपमा नेपाल शिक्षक महासंघ र पेशागत संगठनहरुलाई आमन्त्रण गर्नुका साथै अस्थायि, करार, सट्टा र विस्थापित शिक्षकहरुलाई पनि अनिवार्य उपस्थित हुन आव्हान गरेको भेलापछि आन्दोलन परिचालन समितिका सचिव चेतनाथ पौडेलले जानकारी दिनुभएको छ ।