ठुलो अपार्टमेन्टमा ग्यास विस्फोटन, ३७ जनाको मृत्यु, थुप्रै बेपत्ता



मस्को। रुसको एउटा अपार्टमेन्टमा भएको विस्फोटनमा परी मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।

विस्फोटनपछि बेपत्ता भएकाहरुको खोजी गर्ने क्रममा थप व्यक्तीहरुको पनि शव भेटिएकाले मृत्यु हुनेहरुको संख्या बिहीबार ३७ पुगेको हो ।

नयाँ बर्षको अवसरमा आयोजित रमाइलो कार्यक्रम गरिरहेका बेला अपार्टमेन्टको एक भागमा ग्यास विस्फोटन भएपनि सँगसँगै अरु धेरै परिवार रहेकाले उनीहरुलाई पनि असर परेको अधिकारीहरुले जनाएका छन् ।

मृत्यु हुनेमा छ जना बालबालिका रहेको आपतकालिन मन्त्रालयले जारी गरेको वक्तव्यमा जनाइएको छ । घटनास्थलबाट दुई जना बालबालिका सहित छ जनालाई उद्धार गरिएको छ ।

अत्यन्त न्युन तापक्रमका कारण उद्धार तथा खोजी कार्यमा कठिनाई भइरहेको उद्धारकर्ताहरुले बताएका छन् । घटनास्थलको तापक्रम माइनस २७ डिग्री सेल्सीयस रहेको बताइएको छ ।

पूर्वी मस्कोबाट करिब एक हजार ७०० किलोममिटर टाढा रहेको घटनास्थलमा ८६ आवासीय भवन रहेका थिए ।

ती घरहरुमा करिब एक हजार एक सय व्यक्तिको बसोवास रहेको थियो । यस विस्फोटबाट करिब ३५ वटा अपार्टमेन्ट ध्वस्त र १० वटा क्षतिग्रस्त भएको बताइएको छ । विस्फोटबाट नयाँ वर्षकै दिनमा दर्जनौ मानिस घरवारविहीन भएका छन् । एएफपी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्