धेरै रक्सी पिएपछि किन हुन्छ ह्यांगओभर ?



मानिसहरु जब दुःखी हुन्छन् तब रक्सी पिउँछन्, उनीहरु खुसी हुँदा पनि पिउने भनेको रक्सी नै हो । साथीभाइसँगको जमघटमा रातभरी पार्टी गर्छन्, त्यतिबेला पनि रक्सी नै पिउँछन् । तर नशा उत्रिने बित्तिकै टाउको भारी हुनथाल्छ । बान्ता हुन्छ । रिंगटा लाग्छ । थाकेको महसुस हुन्छ ।

यसलाई मानिसहरुले ह्यांगओभरको संज्ञा दिन्छन् । कसैले कागती पानी पिउन सल्लाह दिन्छन् भने कतिले अण्डा खान । धेरै रक्सी पिएपछि मानिसहरुलाई ह्यांगओभरको समस्या हुन्छ । भोलिपल्ट त्यो उतार्न विभिन्न सल्लाह दिइन्छ । तर यस्ता कस्ता तरिका छन्, जसले तपाईंलाई साँच्चै नै ह्यांगओभरबाट बाहिर निकाल्न सक्छ ?

हज्जारौं वर्ष पुरानो हो यो चुनौतीः

ह्यांगओभर कसरी उतार्ने यो प्रश्न आजको होइन, हज्जारौं वर्ष पुरानो हो । इजिप्टमा पाइएको १९ सय वर्ष पुरानो एक पत्रमा रक्सीको नशाबाट बाहिरिने तरिका लेखिएको पाइयो ।

अर्थात्, त्यतिबेला पनि मानिसहरु धेरै रक्सी पिएपछि हुने ह्यांगओभर उतार्ने कुरामा चिन्तित थिए र यसको समाधान खोजिरहेका थिए । त्यतिबेला जुन तरिका लेखिएको थियो, त्यसलाई आजको समयमा पालना गर्न निकै मुश्किल छ ।

तर आज पनि नशा उतार्न विभिन्न तरिका सुझाइन्छ । जस्तै, नुनिलो खानेकुरा, काँचो अण्डा, गोलभेंडाको जुसइत्यादि खाने सल्लाह दिइन्छ । तर रोचक कुरा के छ भने यीमध्ये कुनै पनि तरिकाले ह्यांगओभर हटाउने पक्का बचन दिँदैनन् ।

किन हुन्छ ह्यांगओभर ?

विज्ञानका अनुसार जब हामीलाई धेरै रक्सी पिएका कारण ह्यांगओभर महसुस हुन्छ अर्थात् जब टाउको भारी हुन्छ, रिंगटा लाग्छ, थकान महसुस हुन्छ तबसम्म रक्सीको नशा हाम्रो शरिरबाट उत्रिसकेको हुन्छ ।

त्यसो भए, ह्यांगओभर के हो त ?

रक्सी एथेनलबाट बन्छ । यसले हाम्रो शरिरमा भएको एन्जाइमलाई तोडेर अन्य थुप्रै केमिमलमा परिणत गर्छ । यीमध्ये सबैभन्दा महत्वपूर्ण हो एसिटेल्डिहाइड ।

एन्जाइमले यसलाई थप तोडेर एसिटेड नामको केमिकलमा परिवर्तन गर्छ । यो एसिटेट बोसो र पानीमा परिवर्तन हुने गर्छ । केही वैज्ञानिक एसिटेल्डिहाइडका कारण ह्यांगओभर हुन्छ भन्ने मान्यता राख्थे । तर केही अनुसन्धानकर्ताका अनुसार एसिटेल्डिहाइडको सम्बन्ध रक्सीको मातसँग छैन ।

केही जानकारका अनुसार रक्सीमा मिसाइने अन्य केमिकल ह्यांगओभरका लागि जिम्मेवार हुन्छन् । यसलाई कन्जेनर्स भनिन्छ । यसमा विभिन्न प्रकारका कण हुन्छन् जुन रक्सी तयार गर्नेबेला सम्मिलित हुन्छन् । मानिसहरुले अत्यधिक पिएपछि यसको उपस्थिती महसुस गर्छन् ।

गाढा रंगको रक्सीमा यो तत्व धेरै हुन्छ । त्यसकारण भोड्काभन्दा डार्क बर्बन रक्सी पिउँदा बढी नशा लाग्छ । यद्यपी, हरेक व्यक्तिमा यसको असर भिन्न हुन्छ । साथै, मानिसहरुको उमेर, उनीहरुको रक्सी पिउने बानीले ह्यांगओभरको असर कति पर्छ, त्यसबारे बताउँछ ।

थकान महसुस किन हुन्छ ?

वास्तविकता यो हो कि कुनै एक तत्वका कारण रक्सी नशालु हुँदैन । यसका विभिन्न कारण हुन्छन् । रक्सी पिउँदा हाम्रो शरिरमा हर्मोन्सको ब्यालेन्स बिग्रन्छ ।

यतिबेला मानिसहरु धेरै पिसाब फेर्छन् । उनीहरुको शरिरमा पानीको कमी हुन्छ । टाउको भारी हुनुको कारण यो पनि हो । रक्सी पिउँदा निन्द्रामा पनि असर पर्छ । मानिसहरु अबेर रातीसम्म रक्सी पिइरहन्छन् । त्यसकारण उनीहरु राम्रोसँग सुत्न पाइरहेका हुँदैनन् । थकान महसुस हुनुको पछाडि यो पनि कारण हो ।

नेदरल्याण्डको उत्रेख्त विश्वविद्यालयका प्राध्यापक योरिस सी वेर्सटर भन्छन्, ‘धेरै रक्सी पिएपछि हाम्रो शरिरले रक्सीको नकारात्मक असर नपुर्याओस् भनेर अत्यधिक शक्ति लगाउँछ । सायद यही कारणले पनि मानिसहरु धेरै रक्सी पिएपछि अलमलिएको देखिन्छन् ।’

इन्टरनेटमा रक्सीको नशा उतार्नका लागि हज्जारौं टिप्स दिइएका छन् । कसैले बताउँछ कि केरा गर्दा ह्यांगओभर उत्रन्छ । किनभने रक्सी पिउँदा शरिरमा पोटाशियम कम हुन्छ र केरा खाँदा शरिरको पोटाशियमको आवश्यकता पूरा हुनेछ र ह्यांगओभर हट्नेछ ।

तर एक रात रक्सी पिउँदा शरिरमा पोटाशियमको कमी हुँदैन जुन केरा खाएपछि लगत्तै प्राप्त पनि हुँदैन । कोही मानिसहरु आदर्श अंग्रेजी ब्रेकफास्ट अर्थात् भारी नास्ता खाने सल्लाह दिन्छन् । कतिले भने रक्सी पिउनु अघि टन्न खाने सुझाव दिन्छन् ।

यस्तै, केही मानिसहरुले अण्डा खाने सल्लाह दिन्छन् । यसमा एमिनो एसिड हुन्छ जसले एसिटेल्डिहाइडलाई तोड्न मद्दत गर्छ । अण्डा खाँदा थोरै भएपनि सहज महसुस होला तर यसले ह्यांगओभरलाई पूरा हटाउँछ भन्ने कुरा ठोकुवा गर्न मुश्किल छ ।

धेरै रक्सी पिएपछि हुने ह्यांगओभरबाट छुटकारा पाउने सबैभन्दा राम्रो तरिका आराम गर्नु, धेरैभन्दा धेरै पानी पिउनु र एस्पिरिनको एउटा चक्की खानु हो ।  रक्सी पिउनुअघि राम्रोसँग खाना खाने र बिस्तारै पिउँदा पनि ह्यांगओभर कम हुन्छ । र, यसबाट पार पाउने सबैभन्दा राम्रो उपाय, थोरै रक्सी पिउनु हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्