राष्ट्रियसभाबाट कर्मचारी समायोजन अध्यादेश २०७५ स्वीकृत



काठमाडौं। राष्ट्रियसभाले कर्मचारी समायोजन अध्यादेश २०७५ लाई स्वीकृत गरेको छ।  राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रस्तुत गरेको कर्मचारी समायोजन अध्यादेश २०७५ लाई स्वीकृत गरियोस् भनी गरेको प्रस्ताव बहुमतले पारित भएको हो। प्रतिनिधिसभाले यसअघि नै यस अध्यादेशलाई स्वीकृत गरिसकेको छ।

सरकारले अब संघीय संसदको अधिवेशन सुरु भएको मितिले ६० दिन भित्र यस अध्यादेशलाई प्रतिस्थापन गर्न प्रतिस्थापन विधेयक ल्याउनुपर्ने हुन्छ। पुस ११ गते संघीय संसदको तेश्रो अधिवेशको पहिलो बैठक बसेकाले पहिलो बैठक बसेको मितिले ६० दिन भित्र संघीय संसदको दुवै सदनबाट प्रतिस्थापन विधेयक पास गरिसक्नुपर्ने छ।

शुक्रबारको बैठकमा सरकारले प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण )विधेयक २०७५ पेश गरेको छ। सरकारको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले सो विधेयक पेश गरेका हुन्। त्यसैगरी बैठकले राहदानी विधेयक २०७५ लाई दफावार छलफलका लागि विधायन समितिमा पठाएको छ ।

त्यसैगरी, राष्ट्रियसभाले २०७० सालको संविधानसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट समानुपातिक सभासद् निर्वाचित स्वर्गीय कमला देवी शर्माको निधनमा शोक प्रस्ताव पारित गरेको छ। उनको गत सोमबार हृदयघातका कारण निधन भएको थियो। राष्ट्रियसभाको अर्को बैठक पुस २५ गते बुधबार बिहान ११ बजे बोलाइएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्