काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकीकरण कार्यदलले बाँकी कामको गृहकार्य गोप्य रूपमा अघि बढाएको छ । संगठनात्मक एकता तथा एकीकरणका सम्बन्धमा गठित नौ सदस्यीय कार्यदलले गृहकार्य सुरु गरेको हो । ललितपुरको एक होटेलमा शुक्रबार बिहानदेखि साँझसम्म लगातार सदस्यहरू छलफलमा जुटे । केन्द्रीय सदस्यहरूको कार्यविभाजन, जिल्ला नेतृत्व बाँडफाँड, जनसंगठनहरूको एकीकरणदेखि पोलिटब्युरो गठनसम्मको प्रस्ट खाका तयार पार्ने ‘म्यान्डेट’ कार्यदललाई छ । प्रारम्भिक चरणमा एकीकरणको मापदण्डमा केन्द्रित रहेर छलफल भइरहेको कार्यदलका एक सदस्यले बताए । १६ पुसमा कार्यदल सदस्यहरूलाई प्रधानमन्त्रीनिवास बालुवाटारमा बोलाएर अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले १० दिनभित्र प्रस्ट खाका तयार पारिसक्न निर्देशन दिएका थिए ।
गृहकार्य गोप्य, खुल्दैनन् सदस्य
अध्यक्ष ओली र प्रचण्डले पार्टी स्थायी समितिले एकीकरण र कार्यविभाजनको खाका पारित नगरेसम्म गृहकार्य सार्वजनिक नगर्न निर्देशन दिएकाले कार्यदल सदस्यहरू खुल्न चाहेका छैनन् । ‘कार्यदलले बनाएको मापदण्ड, छलफल र व्यक्तिका नाम बाहिर जाँदा काम सम्पन्न नहुँदै धेरै प्रेसर खेप्नुपर्ने हुन्छ । त्यसैले नेतृत्वको निर्देशनअनुसार प्रतिवेदन तयार नहुँदासम्म मिडियासँग बोल्दै नबोल्ने सहमति छ,’ कार्यदलका एक सदस्यले नयाँ पत्रिकासँग भने, ‘अहिले सूचना लिक हुँदा सहमति भइसकेका विषय पनि बिग्रिने भएकाले छलफललाई गोप्य राखिएको हो ।’
कार्यदलमा रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, योगेश भट्टराई, बेदुराम भुसाल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, लेखराज भट्ट, वर्षमान पुन र रघुवीर महासेठ सदस्य छन् ।
तीन कार्यदलले पनि एकीकरण नसकेपछि चौथो कार्यदल गठन
केन्द्रीय कमिटी एकीकरण सम्पन्न भएको सात महिनासम्म जिल्ला, जनसंगठन र स्थानीय तहसम्म एकीकरण अल्झिएको छ । एकीकरणका लागि असारयता मात्र चार तहका कार्यदल बनिसकेका छन् ।
पहिलो चरणमा तत्कालीन एमाले र माओवादीका स्थायी समिति सदस्य तथा प्रदेश संयोजक रहेका नेताहरू प्रमुख रहने गरी कार्यदल बनेको थियो । सो कार्यदलले भदौ पहिलो साताभित्र कुन जिल्लाको नेतृत्व तत्कालीन एमाले र माओवादीमध्ये कसले लिने टुंगो लगाएर सम्भावित अध्यक्ष र सचिवसहित सदस्यहरूको नाम सिफारिस गरेको थियो । कार्यदलले प्रदेश कमिटीमा रहने नामावली पनि सिफारिस गरेको थियो ।
प्रदेश तहको कार्यदलअन्तर्गत तत्कालीन दुवै पार्टीका जिल्ला इन्चार्ज र अध्यक्षसहितका पदाधिकारी रहेको छुट्टै कार्यदल बनाइएको थियो । यो कार्यदलले जिल्ला कमिटी सदस्यहरूको संख्या र नामसहितको खाका प्रदेश कार्यदललाई दिएको थियो ।जनसंगठनहरू एकीकरणका लागि समेत छुट्टाछुट्टै कार्यदल बने पनि कुन संगठनको नेतृत्व तत्कालीन एमाले र माओवादीमध्ये कसले लिने ठोस टुंगो नलगाई प्रतिवेदन पेस ग-यो । एकीकृत जनसंगठनको नाम र संख्यासहित नामावली मात्र पार्टी सचिवालयमा पेस भएको थियो ।
एकीकरणको बाँकी कामको ठोस प्रस्ताव कुनै पनि कार्यदलबाट सचिवालय र स्थायी समितिमा पेस नभएपछि नेकपाभित्र असन्तुष्टि चुलियो । एकीकरणको काम र कार्यविभाजनमा ढिलाइबारे २९ मंसिरबाट १२ पुससम्म चलेको स्थायी समितिमा धेरै नेताले व्यापक असन्तुष्टि पोखे । त्यसपछि महासचिव विष्णु पौडेल, रामबहादुर थापालगायत सम्मिलित चौथो कार्यदल गठन गरियो । यो कार्यदललाई पुस मसान्तभित्र सबै टुंगो लगाउनका लागि निर्देशन भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।