महिनावारीको पीडा : आगोकै भरमा रातभर खुला आकाशमुनि बास



महिनावारी हुँदा छाउगोठमा बास भन्ने त सुनेकै कुरा हो तर रातभर खुला आकाशमुनि रात बिताउनुपर्नेे कुरा भने कमैले सुनेको हुनसक्छ । हुम्लाको एउटा गाउँमा महिला महिनावारी हुँदा खुला आकाशमुनि आगोको भरमा रात बिताउने गर्छन् ।

हुम्लाको सर्केगार्ड गाउँपालिकाको वडा नम्बर ३ को उनापानी गाउँका महिला महिनावारी भएको बेला खुला जमिनमा आगो बालेर रात काट्दै आएका छन् । महिला पुसको चिसोमा पनि यसरी बस्नुको कारण भने सामाजिक मान्याता नै रहेको छ ।

 

फेरुवा र छालाको ओछ्यान लगाएर कम्मल पिठ्युमा ओढेर आगो ताप्र्दै रातमा बस्नु भएकी पञ्चकला फडेरा उमेरले ४४ वर्ष पुग्नुभयो । महिनावारी हुँदा यसरी नै किशोरी अवस्थादेखि बस्दै आएको उहाँ बताउनुुहुन्छ ।

निद्रा नलाग्दासम्म सँगैका संगिनीहरू गफ गरेर बस्ने र निद्रा आएमा सुत्ने गरेको बताउने फडेराले यो महिलाको रहर नभएर बाध्यता भएको बताउनुुभयो ।

घर र गोठभित्र जानै नहुने सामाजिक मान्यता भएको कारण यसरी पुसको चिसो रातमा पनि खुला ठाँउमा आगोका भरमा रात बिताउनुु परेको उहाँले बताउनुुहुन्छ । महिनावारी महिला घरभित्र जानु मात्र होइन कुनै पनि चिज पनि छुन पाइन्न ।

 

जग छुए पनि देवता लाग्ने, राम्रो नहुने, क्षति हुने जस्ता अन्धविश्वासका कारण बर्षौदेखि यसरी बस्दै आएको उहाँले बताउनुुभयो । सुरुमा बोल्नै नमानेकी फडेराले बिस्तारै आफ्ना मनका दुःख पोख्नु भएको थियो । करिब दुई सय घरधुरी भएको गाउँमा विवाहित र अविवाहित महिला महिनाको तीनदेखि पाँच रात यसरी बस्नु नियमित काम जस्तै भएको छ ।

गाउँका पढेलेखेका कतिपय मानिस पनि सोही मान्यतामै विश्वास गर्छन् । कक्षा १२ उत्तीर्ण भएर पनि महिनावारी भएको बेला यसरी नै खुला जमिनमा मन नलागे पनि समाजको अगाडि केही नलाग्ने भएको कारण बाध्य भएर बस्दै आएको सोही गाउँकी उर्मिला रावतले बताउनुुभयो ।

महिनावारी सामान्य प्राकृतिक कुरा हो, छुवाछूतको कुरा होइन भन्ने जानकारी भएर पनि घर समाजका सामुन्ने निरीह भएर बस्नुको कुनै विकल्प नभएको उहाँले सुनाउनुभयो ।

 

 

यसको विसङ्गति पक्ष बाहिर ल्याउन समाजका अगाडि लाज हुने भएको कारण धेरै घटना गुपचुपमै राख्नुपर्ने अवस्था रहेको उहाँले दुखेसो पोख्नुभयो ।

फडेरा र रावत दुई जना नमूना पात्र हुनुहुन्छ । त्यस गाउँका सबै महिलाहरुको अबस्था यो भन्दा कुनै भिन्नता नभएको सर्केगार्ड गाँउपालिका स्वास्थ्य संयोजक सन्तोष धामीले बताउनुुभयो । हुम्ला जिल्लामा पढेलेखेको गाउँका रुपमा कहलिएको गाउँ भएर पनि सामाजिक तथा धार्मिक अविश्वासले जरा गाडेको छ ।

गाँउबाट बिरामी महिलाको अवस्था हेर्दा पनि यही चिसोको कारण निकै असर गरेको देखिने गरेको धामीले बताउनुुभयो । महिलामा दम तथा बाथको रोगले सताउने गरेको स्थानीयवासीको भनाइ छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्