स्थानीय तहमा प्रशासनिक वर्गीकरण हुन थाल्यो



सांकेतिक फोटो

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको प्रशासनिक वर्गीकरण थालेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, गृह, प्राकृतिक स्रोत तथा वित्त आयोग र प्रधानमन्त्री कार्यालय सम्मिलित टोली गठन गरी कार्य अघि बढाइएको हो। उक्त टोलीले स्थानीय तहलाई चार वर्गमा प्रारम्भिक विभाजन गरेको छ।

यातायात, हवाई यातायात, त्यसको नियमितता, प्रदेश र जिल्ला सदरमुकामदेखिको दूरी, शिक्षा, स्वास्थ्य, दूरसञ्चार, विद्युत् तथा मानव विकास सूचाकांकका आधारलाई स्थानीय तहको प्रारम्भिक प्रशासनिक वर्गीकरणको आधार मानी विवरण तयार पारिएको छ।

मन्त्रालयको वर्गीकरणमा दुर्गमलाई ‘क’, वर्गमा राखिएको छ। उक्त वर्गमा ६३ वटा गाउँपालिका र ११ वटा नगरपालिका समावेश छन्। त्यस्तै ‘ख’ वर्गमा सामान्य दुर्गम भनी उल्लेख छ। यसमा आठ नगर र ६८ वटा गाउँपालिका छन् । बाँकीलाई तहलाई ‘ग’ र ‘घ’ मा राखिएको छ।

एक पटक स्थानीय तहहरूको पनि रायसुझाव लिई प्रारिम्भक वर्गीकरणलाई अन्तिम रूप दिने तयारी मन्त्रालयको छ। ‘जिल्ला समन्यय समितिको पनि सुझाव लिई महिना दिनभित्र अन्तिम रूप दिनेछौं’, मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले भनेका छन् । कर्मचारी सरुवा, अंकभार तथा दुर्गमभत्ता जस्ता प्रशासनिक कार्यका साथै बजेट तथा अनुदान वितरणमा समेत केन्द्रले प्रशासनिक सुगम र दुर्गम भनी छुट्याएको छ।

जिल्लालाई वस्तुस्थिति, सुगम र दुर्गमका आधारमा प्रशासनिक वर्गीकरण गरिए पनि हाल स्थानीय तहको केन्द्रको आधारमा वर्गीकरण गरिन लागिएको हो। प्रशासनिक वर्गीकरणमा यातायातलाई ३० प्रतिशत, विकासलाई ४० र बाँकी ३० प्रतिशत मापदण्डका आधारमा तयार गरिएको छ।

निजामती सेवा ऐन २०४९ तथा नियमावलीपछि पहिलो पटक स्थानीय तहको प्रशासनिक वर्गीकरण हुन लागेको हो। सो ऐनमा अछाम, कालिकोट, जारकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु, र हुम्लालाई पिछडिएको क्षेत्र मानिएको छ। त्यस्तै १६ वटा हिमाली जिल्लालाई दुर्गम जिल्लाको रूपमा राखेको थियो।

त्यस आधारमा कर्मचारीले दुर्गम भत्ता तथा बढुवामा अंक पाउँदै आएका थिए। ‘दुर्गम तथा पिछडिएका जिल्ला सुगम बन्दै गएपछि यसको प्रशासनिक संरचनाको आवश्यकता खड्किएको हो’, मन्त्रालयका सहसचिव रूपनारायण भट्टराईले भनेका छन् । पहिलेको संरचना फेर्नुपर्ने बेला आएको उनले बताए। संघीय निजामती ऐनमा पनि अहिलेको प्रशासनिक वर्गीकरण समावेश गरिने उनले जनाएका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्