जनयुद्धका घाइतेको खुट्टामा गोलीका छर्रा



बागलुङ । जनयुद्धका घाइते मनबहादुर घर्तीको खुट्टामा अहिले पनि गोलीका छर्रा छन् । गोली लागेको ठाउँ देखाउँदै ३३ वर्षीय घर्तीले उपचार खर्च नपाएको गुनासो गरेका छन्।
ताराखोला गाउँपालिका– ५ का घर्ती विसं २०६० तिर दाङमा भएको सशस्त्र भीडन्तमा घाइते भएका थिए । उपचारपछि हिँडडुल गर्न सक्ने भए पनि उनमा दुखाइको समस्या ठिक भएको छैन ।

“सामान्य अवस्थामा जस्तो हिँड्न सहज छैन”, उनले भने, “चिकित्सकले छर्रा हड्डीमा मिलेर बसेको छ निकाल्दा झन् समस्या हुन्छ भनेपछि निकालिएको छैन ।” घाइते भएपछि तत्कालै माओवादी सेनाको स्वास्थ्य टोलीले उनको प्राथमिक उपचार गरेको थियो ।

पछि सीमापार भारतसम्म पुगेर थप उपचार गरेको घर्तीले बताए । उहनले शरीरमा गोलीका छर्रा बोकेर हिँडेको १५ वर्ष भएको छ । जनयुद्धको नेतृत्व गर्ने तत्कालीन नेकपा माओवादी अहिले नेकपाको रुपमा सरकारमा हुँदा पनि आफू अन्यायमा परेको उनको गुनासो छ ।

पछिल्लो समय पार्टीका जिम्मेवार केही नेताले फोन गरेर काठमाडौँ आउनुस् उपचार खर्च दिलाउँछौँ भनेर आश्वासन दिएको घर्तीले बताए ।

घाइते भएपछि जनमुक्ति सेनामा निष्क्रिय बन्नुभएका घर्ती शान्ति प्रक्रियासँगै पार्टी राजनीतिमा सक्रिय भएका थिए। अहिले उनि गाउँकै एक जलविद्युत् आयोजनामा व्यवस्थापकको रुपमा कार्यरत छन् ।

नेपालको अवस्था फेरिन्छ र जनजीविकामा आमूलपरिवर्तन हुन्छ, भन्ने विश्वासमा आफू जनयुद्धमा होमिएको घर्तीको भनाइ छ । द्वन्द्वपीडितको नाम भजाएर कतिपयले राज्यबाट सेवा सुविधा लिएको उनको आरोप छ । आर्थिक सहयोग पाएमा गोलीका छर्रा निकाल्ने सोच उनको छ ।

 

जनयुद्धले घर्तीको परिवारमा अर्को पनि पीडा दिएको छ । उनका माइला दाजु बाजेन्द्र विसं २०५८ देखि बेपत्ता छनत् । आमा, जेठा दाइ र भाइसहित परिवारमा बस्दै आएका घर्तीले १२ कक्षासम्मको अध्ययन गरेका छन् । कक्षा ८ मै पढाइ छाडेर जनयुद्धमा होमिएका उनले शान्ति प्रक्रियापछि पढाइ अघि बढाएका थिए ।

गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले उपचार खर्चको लागि गाउँपालिकाबाट प्रक्रिया अघि बढाइएको बताए । “गृह मन्त्रालयमा सिफारिस पठाएका छौँ”, उनले भने, “सबैले पाउँदा उनको कसरी छुट्यो हामी पनि अनविज्ञ छौँ ।” रासस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्