रुकुम । रुकुम (पूर्व) प्रदेश नं-५ को एक मात्र हिमाली जिल्लामा निकै चिसो बढेकाले बिरामीको सङ्ख्या पनि प्रतिदिन बढिरहेको छ।
विगतका वर्षमा स्थानीय स्वास्थ्य चौकीमा चिसो याममाभन्दा गर्मी याममा बिरामीको चाप बढी हुने गरेकामा अहिले चिसो याममै बिरामीको चाप बढेको छ।
सिस्ने गाउँपालिका ५ रुकुमकोटका ६५ वर्षीय पूर्णबहादुर बुढा मगरलाई रुघाखोकी र ज्वरोले सताएकाले रुकुमकोटस्थित स्वास्थ्यचौकीमा पुगे। पुथा उत्तरगङ्गा गाउँपालिकाका अर्का थानबहादुर पुन पनि त्यस्तै समस्या भएर स्वास्थ्यचौकी पुगे।
गतवर्ष जाडो शुरु भएको कात्तिकदेखि माघसम्म दिनमा एक/दुई जना मात्र बिरामी आउने गरेकोमा अहिले दिनमा पाँच जनासम्म बिरामी आउने गरेको रुकुमकोट स्वास्थ्य चौकीका इन्चार्ज सुरेन्द्रकुमार यादवले बताए।
तीव्र गतिमा भएको जलवायु परिवर्तनका कारणले अत्यधिक चिसो भएको बताइएको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।