माओवादी केन्द्रले केन्द्रीय समिति भंग गर्दै



सैघाली खबर
काठमाडौँ, २५ साउन

माओवादी केन्द्रले चार हजारको संख्यामा रहेको पार्टी केन्द्रीय समिति भदौभित्र विघटन गर्ने तयारी गरेको छ । जसअनुसार प्रदेश नम्बर २, ३ र ४ अन्तर्गतको केन्द्रीय सदस्यहरूको छुट्टाछुट्टै बैठक राखेर सिंगो केन्द्रीय समिति नै विघटन गर्ने प्रस्तावलाई अनुमोदन गराइसकेको छ ।

माओवादी केन्द्रले केन्द्रीय नेताहरूलाई एक तह घटुवा गर्दै केन्द्रीय समिति भंग गर्ने प्रस्तावलाई प्रदेश नम्बर ३ बाट अनुमोदन गराएको छ । ३९ सय ९९ जना सदस्य रहेको भद्दा केन्द्रीय समितिले पार्टी जीवनलाई धरापमा पारेको भन्दै माओवादी केन्द्रले आफ्नो केन्द्रीय समिति भंग गर्ने प्रस्तावलाई सातवटै प्रदेशबाट अनुमोदन गराउँदै छ । यसअन्तर्गत मंगलबार प्रदेश नम्बर ३ अन्तर्गतको केन्द्रीय समिति भंग गर्ने प्रस्ताव अनुमोदन भएको हो । यस्तै पार्टीले प्रदेश नम्बर २ र प्रदेश नम्बर ४ अन्तर्गतको केन्द्रीय समिति पनि भंग गर्ने प्रस्तावलाई अनुमोदन गराइसकेको छ ।

पार्टी हेडक्वार्टर सदस्य मणि थापाका अनुसार माओवादीले प्रदेश नम्बर ५ अन्तर्गतको केन्द्रीय समितिलाई बुधबार, प्रदेश नम्बर ७ अन्तर्गतको केन्द्रीय समिति १० भदौमा, प्रदेश नम्बर ६ अन्तर्गतको केन्द्रीय समिति ८ भदौमा र प्रदेश नम्बर १ अन्तर्गतको केन्द्रीय समिति १२ भदौमा विघटन गर्ने प्रस्ताव अनुमोदन गराउँदै छ । त्यस्तो अनुमोदनका आधारमा पार्टी हेडक्वार्टरले पार्टीको सिंगो केन्द्रीय समिति खारेज गर्ने तयारी गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्