मनोरञ्जन

स्वस्तिमाले आफ्नो अन्तर्वार्ता आफै लिइन

By थाहा अनलाइन

January 07, 2019

काठमाडौं । हरेक हप्ता प्रचारका लागि नयाँनयाँ सामग्री उपलब्ध गराउँदै आएको चलचित्र ‘बुलबुल’मा निर्माण टिमले नायिका स्वस्तिमा खड्कालाई एउटै फ्रेममा फरक रुपमा प्रस्तुत गरेको छ । युट्युबमार्फत सार्वजनिक सामाग्रीमा स्वस्तिमाले आफ्नै फिल्ममा रनकला बनेकी स्वस्तिमासँग अन्तर्वार्ता लिएकी छिन् ।

निर्देशक विनोद पौडेलले स्वस्तिमाले चलचित्रमा निर्वाह गरेको चरित्र रनकलालाई दर्शकमाझ परिचित गराउन अन्तर्वार्ताको शैली अपनाएको बताए ।

“पहिला दुई टिजरमा हामीले चोपेन्द्रलाई स्थापित गर्ने लक्ष्य राखेका थियौं । हामीलाई प्राप्त प्रतिक्रियाले हामी त्यसमा सफल भएको महसुस गरेका छौं । यसैगरी हामी रनकलालाई पनि परिचित गराउन चाहान्थ्यौं, रचनात्मक उपायको खोजीमा अन्तर्वार्ताको आइडिया आयो,” विज्ञप्तीमा भनिएको छ, “स्वस्तिमाले आफूलाई कुन लेभलमा चरित्रका लागि रुपान्तरण गरेको छ, भिडियो हेर्दा स्पष्ट हुन्छ ।”

प्रचारको मैदानमा उत्रिएदेखि नै बुलबुलले प्रचारको नयाँ शैली अपनाउँदै आएको छ । फ्ल्यासमोब शैलीमा देशका ५ ठूला सहरबाट पहिलो गीत सार्वजनिक गरेर रचनात्मक प्रचारको थालनी गरेको निर्माण समूहले त्यसपछि सार्वजनिक दुई टिजरमा फिल्मका धेरै दृश्य देखाउनुको साटो एउटै दृश्यबाट फिल्मका दुई मुख्य पात्रलाई दर्शकसामु प्रस्तुत गरेको थियो ।

यही दुई टिजरबाट मुकुन भुषाल चोपेन्द्रको रुपमा दर्शकमाझ परिचित भएका छन् । आइतबार प्रचारको सोही शैलीलाई निरन्तरता दिँदै निर्माण टिमले स्वस्तिमालाई एउटै फ्रेममा फरक रुपमा प्रस्तुत गरेको छ ।

फिल्मले टेम्पो चालक महिलाको दैनिकीलाई पर्दामा प्रस्तुत गर्नेछ । चलचित्रमा स्वस्तिमा खड्काले टेम्पो चालकको भूमिका निर्वाह गरेकी छिन् ।

भिडियोसँगै निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गर्ने मिति पनि सार्वजनिक गरेको छ । निर्माता अविरल थापाले माघ १ गते फिल्मको ट्रेलर सार्वजनिक गर्ने जानकारी गराए । चलचित्रमा बुद्धि तामाङ, मुकुन भुसाल, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, एलिना कार्कीलगायतको अभिनय छ ।