क्रिश्चियन धर्मसँग जोड्ने प्रयास भएकोमा माधवकुमार नेपालको गुनासो



काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो नाम क्रिश्चियन धर्मसँग जोड्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाएका छन् । नेकपाका वरिष्ठ नेतासमेत रहेका नेपालले सरकारको ‘सुःखी नेपालीः समृद्ध नेपाल’ बनाउने अभियानमा अन्तर्राष्ट्रिय साथ र सहयोग जुटाउन आफू ‘एशीया प्यासिफिक समिट’मा सहभागी भएको स्पष्टीकरण दिदै आपत्ति जनाएका हुन् ।

सोमबार संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा विवादास्पद ‘एशीया प्यासिफिक समिट’मा नेता नेपाल सहभागी भएको भन्दै कांग्रेस सांसद दिव्यमणि राजभण्डारीले यो विषयलाई प्रवेश गराएका थिए ।

सोही सम्बन्धमा स्पष्टीकरण दिने क्रममा वरिष्ठ नेता नेपालले नेपाललाई विश्वमा चिनाउन आफू सो समिटमा सहभागी भएको दावी गरेका छन् ।

उनले सो समिटमा सहभागी भएको विषयलाई लिएर आफूमाथि गलत मनासाय राख्ने काम भइरहेको भन्दै आपत्ति पनि जनाएका छन् ।

आफूले सबै धर्मलाई सम्मानका दृष्टिले हेर्ने गरेको वरिष्ठ नेता नेपालले स्पष्ट पारे । उनले एसिया प्यासिफिक समिटमा पहिलो पटक सहभागी हुने विपी कोइराला भएको जवाफ कांग्रेस सांसद राजभण्डारीलाई दिएका थिए ।

समिटमा कांग्रेस नेताहरु गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र वर्तमान सभापति शेरबहादुर देउवा सहभागी हुँदा विवाद नगर्ने तर आफू सहभागी हुँदा बिरोध गर्ने काम भएकोमा वरिष्ठ नेता नेपालको गुनासो छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्