हावाबाट बिजुली उत्पादन,गाँउनै झलमल



फिदिम । पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सप्तमी बजारकी धनमाया निरौलाको होटलमा झलमल बत्ती बलेको छ ।

नियमित बत्ती बल्न थालेपछि राति अबेरसम्म होटलमा काम गर्न सजिलो भएकोमा उनि खुशी छिन ।

उनिलगायत सप्तमीबजार झण्डै १०० घरमा केही दिनदेखि नियमित विद्युत् सुविधा पुगेको छ ।

स्थानीयवासीकै सक्रियता र नेपाल सरकारको सहयोगमा उत्पादित वायु र सौर्य ऊर्जाबाट उत्पादित विद्युत् आयोजनाबाट वर्षौंदेखि अँध्यारोमा बस्दै आएका स्थानीयवासीले उज्यालोको सुविधा पाएका हुन् ।

सप्तमी बजारमा वायु र सौर्य प्रणालीबाट विद्युत् उत्पादन गरिएको छ । वायुबाट २० किलोवाट र सौर्य प्रणालीबाट ५० किलोवाट विद्युत् उत्पादन गरिएको हो ।

उत्पादित विद्युत् पुस महीनाको दोस्रो सातादेखि परीक्षण प्रशारणमा रहेको छ । पुस मसान्तसम्म परीक्षण गरी माघदेखि चौबिसैघण्टा विद्युत् प्रसारण गरिने सप्तमी वायु तथा सौर्य ऊर्जा मिनीग्रिड उपभोक्ता समितिले जनाएको छ ।

समितिका अनुसार उत्पादित विद्युत्बाट सप्तमी बजारसहित आसपास ११० घरमा विद्युत् जडान गर्ने कार्य चलिरहेको ।

गत वैशाखको पहिलो सातादेखि निर्माण थालेको टप्सन कृष्णग्रिल जेभीले पुस दोस्रो साता सम्पूर्ण काम सकेपछि परीक्षण थालिएको सप्तमी वायु तथा सौर्य ऊर्जा मिनीग्रिड उपभोक्ता समितिका अध्यक्ष गङ्गाबहादुर आङ्देम्बेले जानकारी दिए ।

सो आयोजना सम्पन्न गर्न उपभोक्ताको रु २० लाख २५ हजार, मिक्लाजुङ गाउँपालिकाको रु २४ लाख ७५ हजार र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु चार करोड पाँच लाखको लागतमा वायु तथा सौर्य विद्युत् ग्रेड निर्माण सम्पन्न भएको हो ।

उपभोक्ता समितिका अध्यक्ष आङ्देम्बेले विद्युत् प्रशारण लाइन विस्तारको काम भइरहेको जानकारी दिए ।

पुसको अन्तिमसम्ममा प्रसारण लाइन विस्तारको काम सक्ने गरी प्राविधिकलाई परिचालन गरिएको उनको भनाइ छ ।

यहाँ विद्युत् महसुल समेत नेपाल विद्युत् प्राधिकरणको महसुल दर भन्दा केही सस्तो हुने र उपभोक्ताको आम भेलाबाटै सहमतिमा समितिले महसुल दर निर्धारण गर्ने अध्यक्ष आङ्देम्बेले जानकारी बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्