राष्ट्रिय अनुसन्धान विभागका प्रमुख एआइजी गणेश अधिकारी



काठमाडौ । सरकारले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीपराज रेग्मीलाई पदबाट हटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनको ठाउँमा एआइजी गणेश अधिकारीलाई नियुक्त गरेको छ ।

बैठकले विभाग सञ्चालनसम्बन्धी विशेष सेवा नियमावलीमा रहेको प्रमुखको पदावधिसम्बन्धी प्रावधान संशोधन गरेर रेग्मीलाई हटाएको हो । नियमावलीमा प्रमुखको पदावधि चार वर्ष हुने व्यवस्था थियो । यसलाई संशोधन गरी तीन वर्ष बनाइएको छ । चारवर्षे पदावधि हुँदा रेग्मी १४ जेठसम्म कायम रहन्थे । नवनियुक्त प्रमुख अधिकारीले सोमबार बेलुका नै पदभार ग्रहण गरेका छन् ।

प्रमुख फेर्ने तयारीबारे गृह मन्त्रालयकै अधिकारीहरूलाईसमेत जानकारी थिएन । रेग्मी सोमबार सुरक्षासम्बन्धी छलफलमा गृहमै थिए । केही महिनायता विभागका प्रमुख रेग्मीलाई हटाएर अधिकारीलाई प्रमुख बनाउन लबिङ भएको थियो । प्रमुख नियुक्त भएका अधिकारीले अबको तीन वर्ष विभागको नेतृत्व सम्हाल्नेछन् ।

३० वर्षे सेवाहद पनि हट्यो 
सरकारले राष्ट्रिय अनुसन्धान विभागमा रहेको ३० वर्षे सेवाहदको प्रावधान पनि हटाएको छ । अब पदावधि र उमेरहदका कारण मात्र विभागका कर्मचारीले अवकाश पाउनेछन् । एक मन्त्रीका अनुसार केही दरबन्दी पनि हेरफेर गरिएको छ । एआइजीको दरबन्दी दुई बनाइएको छ । यसअघि तीन थियो । त्यस्तै, प्रमुखको पदावधि तीन वर्ष, एआइजीको चार वर्ष तथा डिआइजीको पाँच वर्ष बनाइएको छ । गृह मन्त्रालय मातहत रहेको विभागलाई सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहत राख्ने निर्णय गरिसकेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्