मलेसियाका राजाले गरे गद्दीत्यागको घोषणा



मलेसियाका राजा सुल्तान मुहम्मद पाँचौँले राजगद्दी त्याग गरेको घोषणा गरेका छन् । राजा सुल्तानले आइतबार राजगद्दी त्यागको घोषणा गरेको राजप्रासाद अधिकारीहरूले आइतबार बताएका छन् ।   मुस्लिमहरूको बाहुल्यता रहेको मलेसियामा सन् १९५७ यता कुनै राजाले राजगद्दी त्याग गरेको यो पहिलो घटना हो । राजप्रासाद कार्यालयको वक्तव्यमा भनिएको छ, ‘महाराजाधिराज सुल्तानले जनवरी ६ तारिखबाट लागू हुने गरी १५औँ राजाका रूपमा गद्दीत्याग गर्नुभएकोे छ ।’

तर, राजप्रासाद कार्यालयले ४९ वर्षीय राजाले राजगद्दी त्याग गर्नुको कुनै कारण खुलाएको छैन । राजा सुल्तानले सन् २०१६ डिसेम्बरमा राजगद्दी सम्हालेका थिए । उनी गत नोभेम्बरमा औषधोपचारका लागि भन्दै लामो समय बिदामा बसेका थिए । उनले बिदा लिएलगत्तै केही अनलाइन सञ्चारमाध्यममा राजा सुल्तान रुसकी पूर्वसुन्दरी (मिस मस्को)सँग गहिरो प्रेम सम्बन्धमा रहेका विवरण सार्वजनिक भएका थिए । सुल्तानले ती सुन्दरीसँग विवाह गरेको अनुमान पनि गरिएको छ । मलेसियामा संवैधानिक राजतन्त्रात्मक व्यवस्था छ । मलेसियाका नौवटा राज्यबाट पालैपालो हरेक पाँच वर्षमा नयाँ राजा हुने अनौठो प्रचलन छ । एजेन्सी

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्