मुख्यमन्त्रीले भत्ता वापत तीन लाख बुझे



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले चालु आर्थिक वर्षको साउन महिनादेखि पुससम्म करिब तीन लाख रुपैयाँ भ्रमण भत्ता बापत बुझेका छन्। प्रदेशको राजधानी पोखरा बाहिर आउजाउ गर्दा सबैभन्दा धेरै दैनिक भ्रमण भत्ता लिनेमा मुख्यमन्त्री गुरुङ नै एक नम्बरमा रहेका छन्।


उनले दुई लाख ९२ हजार दुईसय ५० रुपैयाँ भत्ता बापत पैसा बुझेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ। मुख्यमन्त्रीपछि सबै भन्दा धेरै भत्ता बुझ्ने आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ रहेकाछन्। उनले पनि सोही अबधिमा ९६ हजार आठ सय ७५ रुपैयाँ बुझेका छन्। तेस्रो नम्बरमा धेरै दैनिक भ्रमण भत्ता बुझ्नेमा प्रदेश सरकारका प्रवत्ता समेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत पर्छन्। उनले ९६ हजार छ सय ५० रुपैयाँ बुझिसकेका छन्। चौँथो धेरै भ्रमण भत्ता बुझ्ने मन्त्रीमा हरि बहादुर चुमान पर्छन्।

आन्तरिक मामिला तथा कानुन मन्त्री चुमानले ७४ हजार तीनसय ७५ रुपैयाँ बुझेका छन्। पाचौँ भत्ता बुझ्ने मन्त्री हुन विकास लम्साल। उद्योग पर्यटन वन वावरण मन्त्री लम्सालले साउन महिना यता दैनिक भ्रमण भत्ता बापत ५४ हजार तीन सय १० रुपैयाँ बुझेका छन्। छैटौँ नम्बरमा धेरै भत्ता लिने लिस्टमा छन भूमि व्यवस्था तथा कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा। उनले यस अवधिमा ४८ हजार आठसय ७५ रुपैयाँ बुझेका छन् । उनी यस सरकारमा सबै भन्दा कम भत्ता लिनेमा दोस्रो नम्बरमा छन्।

गण्डकी सरकारका सात मन्त्री मध्ये सबै भन्दा कम दैनिक भ्रमण भत्ता बुझ्ने मन्त्री हुन नरदेवी पुन मगर छिन्। सामाजिक विकास मन्त्री मगरले साउन महिनायता जम्मा २० हजार रुपैयाँ बुझेकी छन्। सरकारका मन्त्रीहरुलाई राजधानी भएको जिल्ला बाहेकका १० वटा जिल्लासँगै विदेश जाँदा समेत भत्ता दिने ब्यवस्था गरिएको छ। यस बाहेक मन्त्रीहरुले नियमित तलबसँगै चाडवाड मनाउन खर्चसमेत सरकारसँग लिने गरेका छन्।
मन्त्रीहरुसँगै उनका राजनीतिक सल्लाहकार र स्वकीय सचिवहरुले पनि भत्ता बुझेका छन्। मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार गोबिन्द बहादुर नेपालीले १३ हजार पाँचसय २५ रुपैयाँ बुझेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ। गण्डकी प्रदेश सरकारमा मन्त्रीको भन्दा मन्त्रीका स्वकीय सचिव र कार्यालय सहयोगीहरुले धेरै भत्ता बुझेका छन्।
भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतका स्वकीय सचिव निर्मल गुरुङले सामाजिक विकास मन्त्री नरदेवी पुनको भन्दा पनि धेरै दैनिक भ्रमण भत्ता बुझेका छन्। साउन महिनायता मन्त्री पुनले २० हजार रुपैयाँ बुझेकी छन् भने गुरुङले ३६ हजार रुपैयाँ बुझिसकेका छन्। त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङका स्वकीय सचिव रोमाकान्त पोखरेल पनि मन्त्री पुनको भन्दा धेरै दैनिक भ्रमण भत्ता लिनेमा दोस्रो नम्बरमा छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्