काठमाडौं । नेपाली कांग्रेसले संसदमा प्रधानमन्त्री र मन्त्रीहरुले बोल्दा हरेक पटक प्रश्न गर्न पाउनुपर्ने बताएको छ । मंगलबार कांग्रेसको संसदीय दलको बैठकले संसदमा प्रधानमन्त्री र मन्त्रीले बोल्दा हरेक पटक प्रश्नउत्तर गर्न दबाब सिर्जना गर्ने निर्णय गरेको हो । बैठकमा गत आइतबार संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा संबोधन गरेपछि सभामुख कृष्णबहादुर महराले कांग्रेस सांसदलाई प्रश्न गर्न नदिएको विषयमा पनि छलफल भएको थियो । बैठकले आउँदा दिनमा प्रधानमन्त्री वा मन्त्रीले बोल्दा प्रश्न उत्तरको कार्यक्रम अनिवार्य राख्नुपर्ने परम्परा स्थापित गराउन दबाब दिने निर्णय गरेको सांसद गगन थापाले जानकारी दिए ।
‘अब उप्रान्त मन्त्री र प्रधानमन्त्री आउँछ भने कुनै हालतमा पनि प्रश्न उत्तर नगरिकन जान्छु भनेर कल्पना नगर ेहुन्छ । यो कुरा सभामुखले संसदमा रुलिङ गर्दै अबदेखि यस्तो हुन्छ भन्नुभयो भने समस्या समाधान भइहाल्छ’ उनले भने । कांग्रेसले बुधबार बस्ने प्रतिनिधि सभा बैठक आइतबार स्थगित भएकै बिन्दुबाट सुरु हुनुपर्ने अडान राखेको छ । गत आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संबोधन गरेपछि सभामुखले प्रश्न गर्न नदिँदा कांग्रेस सांसदहरुले संसदको वेल घेराउ गरेका थिए । त्यसपछि स्थगित भएको बैठक बुधबार बोलाइएको छ ।
देउवा संसदका हरेक बैठकमा सहभागी हुने
संसदीय दलको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले आफू प्रतिनिधि सभाका हरेक बैठकमा उपस्थित हुने बाचा गरेका छन् ।
‘पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले आफु रेगुलर बैठकमा आउँछु भन्नुभएको छ’, बैठकपछि नेता थापाले भने, ‘तपाईंहरु नआए पनि म आउँछु भन्नुभयो ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।