भारतीय दूतले सीमा नाघेको भन्दै संसदमा गर्जिए – रावल



सैघाली खबर,
काठमाडौँ, २५ साउन । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले भारतीय वाणिज्य दूतावासका गतिविधि आपत्तिजनक रहेको बताएका छन् ।

व्यवस्थापिका संसदको आजको बैठकको विशेष समयमा बोल्दै नेता रावलले हालै भारतीय वाणिज्य दूतावासका कन्सुलरबाट वीरगञ्जमा भएको क्रियाकलाप खेदजनक रहेको बताए । ‘भियना सम्मेलन र संयुक्त राष्ट्रसंघको बडापत्रको मान्यताअनुरुप देश चल्नुपर्छ यसतर्फ सरकार गम्भीर बन्नुपर्छ,’ उनले भने ।

कुटनीतिक निकायले अर्काको देशमा हस्तक्षेप गर्न नहुने भन्दै भियना सम्मेलनबारे स्मरण गराउँदै रावलले अगाडि भने– ‘यदि कुनै पनि देशको कुटनीतिक दूतले भियना कम्भेन्सनका प्रावधानलाई उल्लंघन गरेमा निजलाई देशबाट निष्काशित गर्नसक्ने, कारवाही गर्नसक्ने प्रत्येक देशको सार्वभौम अधिकार हो ।’

संसदमा भीम रावलले अरु के के भने

वीरगञ्जमा रहेको भारतीय वाणिज्य दूतावासले उम्मेदवार हुन प्रतिष्ठित व्यक्तिलाई कार्यालयमा बोलाउने, हक्कीदक्की गर्ने, प्रलोभन दिने र कतिपयलाई त्यस्तो किसिमको भौतिक सुविधाहरु बाड्ने कुराहरु आइरहेको छ ।

त्यससम्बन्धमा सरकारलाई थाहा छ कि छैन । वा हाम्रो प्रधानमन्त्री शेरबहादुर देउवाजी यही कुरामा वार्ता गर्न दिल्ली जाँदै हुनुहन्छ की रु देशको कुटनीतिक मर्यादा भुल्ने, हाम्रो संविधान, कानूनविपरित एउटा कुनै देशको मानिस दूतावासबाट निर्वाचनको सन्दर्भमा अमुख पार्टीलाई जिताउने, सघाउने, अमुख उम्मेदवारलाई सहयोग गर्ने, अमुख उम्मेदवारलाई किन उठेको भन्नेजस्ता क्रियाकलाप भइरहेको कुरा परराष्ट्रमन्त्रीज्युलाई थाहा छ कि छैन् । यो देशको सरकारलाई थाहा छ कि छैन् । सरकारले यससम्बन्धमा अविलम्ब सदनमा जानकारी गराओस् ।

उनले अरु देशको दूतावासमा गएर राजनीतिक छलफल गर्ने कुराको जानकारी अभिलेख राख्न पनि सरकारको ध्यानाकर्षण गराए ।

उनले भने– एकातिर स्वच्छ भयरहित वातावरणमा निस्पक्ष निर्वाचन चाहन्छौं । तर, भारतीय वाणिज्य दूतले वीरगञ्जमा विभिन्न पार्टीका मान्छे बोलाएर त्यस्तो काम गर्दा पनि सरकार चुप लाग्नुको कारण के हो रु यससम्बन्धनमा सरकारले यस सदनमा अविलम्ब जानकारी गराओस् । नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, आत्मनिर्णयको अधिकार, राज्यहरुबीचको समानता, मैत्रीपूर्ण सम्बन्धलाई बलियो बनाउने मान्यताहरुलाई यो सरकारले रक्षा गरोस् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्