काठमाडौ । सांसदका पिएलाई शाखा अधिकृतसरहको सुविधा दिने संसद् सचिवालयले उनीहरूबाट नागरिकताको फोटोकपी मात्र लिन्छ । सांसदका आफन्त नै भए पनि कम्तीमा शाखा अधिकृतसरहको शैक्षिक योग्यता हुनुपर्ने हो । तर, अहिले जागिर खाइरहेका पिएहरूको शैक्षिक योग्यता कति हो ? संसद्मा कतै अभिलेख छैन ।
सांसदले आफ्नो पिएको नागरिकताको फोटोकपी मात्रै संसद्मा प्रस्तुत गर्छन् । त्यसैका आधारमा सांसदको खातामा पिएको तलब पठाइन्छ । तलब सुविधासम्बन्धी संसद्को ऐनअनुसार सांसदका पिएले शाखा अधिकृतसरहको पारिश्रमिक पाउँछन् । तर, सांसदले श्रीमान्, श्रीमती, सालासाली र भान्जाभान्जीलगायत आफन्तलाई नियुक्त गरेका छन् । ‘सांसदहरूले आफ्नो पर्सनल असिस्टेन्ट आफैँ नियुक्त गर्नुहुन्छ ।
कति योग्यताको पिए आफूलाई चाहिने हो त्यो उहाँहरूले नै निर्णय गर्नुहुन्छ । उहाँहरू आफैँले पिएलाई दिएको नियुक्तिपत्र, पिएको नागरिकताको फोटोकपी र सांसदको बैंक अकाउन्ट सचिवालयले माग गर्छ,’ संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले भने ।
संसदले ५ मंसिर ०७३ सालमा पारित गरेको संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐनले सभामुखदेखि सांसदका पिएको पारिश्रमिक पिएकै खातामा जानुपर्ने व्यवस्था गरेको छ । तर, कानुन बनेको २ बर्ष बितिसक्दा पनि तलब सांसदकै खातामा जाने गरेको छ ।
प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षले एकजना सहसचिव, एकजना उपसचिव,एकजना शाखा अधिकृत सरहको पिए राख्न पाउने ऐनमा व्यवस्था छ । साथै एकजना कम्प्युटर अपरेटर र २ जना कार्यालय सहयोगी गरी सभामुख र अध्यक्षको सचिवालयमा ६ जना रहन्छन् । त्यस्तै प्रतिनिधिसभामा विपक्षी दलको नेता,उपसभामुख र उपाध्यक्षको निजी सचिवालयमा एकजना उपसचिव सरह पिए,राजपत्र अनंकित प्रथम श्रेणी सरहको एकजना कम्प्युटर अपरेटर र २ जना कार्यालय सहयोगी गरी चारजना कर्मचारी रहन्छन् ।
राष्ट्रियसभामा विपक्षी दलको नेता, सत्तापक्षको नेता र सत्तापक्षको मुख्य सचेतकको सचिवालयमा एकजना उपसचिव सरहको पिए,एकजना कम्प्युटर अधिकृत र एकजना कार्यालय सहयोगी गरी ३ जना रहन्छन् । विपक्षी दलको प्रमुख सचेतक,सत्ता पक्षको प्रमुख सचेतक र समिति सभापतिको सचिवालयमा एकजना उपसचिव सरहको पिए, एकजना कम्प्युटर अधिकृत र एकजना कार्यालय सहयोगी सहित ३ जना कर्मचारी रहन्छन् । सांसदहरूको लागि भने शाखा अधिकृत सरहको एकजना स्वकीय नियुक्त हुनुपर्ने र सोहिअनुसारको पारिश्रमिक पाउने व्यवस्था ऐनमा छ ।
संघीय संसद सचिवालयका प्रवक्ता पाण्डेले ०५२ सालदेखि नै एकमुष्ट रुपमा सांसदहरूकै खातामा सचिवालयले स्वकीय सचिवको समेत पारिश्रमिक हाल्ने गरेको बताए । ‘हामीले एकमुष्ट माननीयज्यूहरूकै खातामा हाल्ने गरेका छौँ । पिएहरूबाट कुनै गुनासो आएको छैन । ऐनमा पिएकै खातामा रकम जम्मा गर्नुपर्ने भन्ने छ । अहिलेसम्म त्यो सिस्टम बनेको छैन । हामी बनाउदैछौँ’ प्रवक्ता पाण्डेले भने ।
समाचारमा संसदीय दलको गम्भिर ध्यानाकर्षण भएको छ– नेकपा उपनेता नेम्वाङ
सांसदहरूले पिएमा आफन्त र नातागोताकै मान्छे नियुक्त गरेको भन्ने समाचारप्रति नेकपा संसदीय दलको कार्यालयको ध्यानाकर्षण भएको छ । कसको स्वकीय सचिव को हुनुहुन्छ, के सम्बन्ध छ भन्ने औपचारिक जानकारी दललाई छैन । यसबारेमा जानकारीहरू आइरहेका छन् । गम्भिरतापूर्वक संसदीय दलको ध्यानाकर्षण भएको छ । हामी यसबारे छलफल गर्छौँ । आफ्नो राजनीतिक जीवन, निर्वाचन क्षेत्रको विकास तथा आफ्नो भूमिकामा सहयोगी बन्नेलाई नै सांसदहरूले स्वकीय सचिव नियुक्त गर्नुहुन्छ । कतिपय प्रत्यक्ष निर्वाचित सांसदले आफ्नो निर्वाचन क्षेत्र र राजधानीमा गरेर २ जना स्वकीय सचिव पनि राख्नुभएको छ । आफ्नो काम सहज बनाउने, सहयोगी भूमिका खेल्ने व्यक्तिलाई नै पिए राख्ने हो ।
हाम्रा होइन राम्रा मान्छे राख्नुपर्छ : रामचन्द्र पौडेल, कांग्रेस नेता
परिवारका सदस्य र नातागोता होइन आफ्नो क्षेत्रका कार्यकर्ता स्वकीय सचिव राख्नुपर्छ । जिम्मेवारी दिन परिवारभन्दा कार्यकर्तालाई स्वकीय सचिवमा प्राथमिकता दिनुपर्छ । हाम्रो होइन राम्रो मान्छे राख्नुपर्छ । परिवारको सदस्य राखेर हुँदैन । परिवारको राख्दा काम हुँदैनन् । उनीहरू दक्ष पनि हुँदैनन् । पारिवारिक घेराभन्दा बाहिरको सोच उनीहरूमा हुँदैन । काम गर्नेभन्दा पनि तलबमात्रै पचाउने खालका हुन्छन् ।
स्वकीय सचिवमा आफन्त राख्ने विषय सच्याउँछौ
सुर्यराज आचार्य
विवेकसिल साझा पार्टीका प्रवक्ता
स्वकीय सचिवमा आफन्त राख्न नपाउने विषयमा हाम्रो पार्टीका सांसदहरूलाई थाहा रहेनछ । मिडियामा समाचार आएपछि हाम्रो पार्टीबाट स्वकीय सचिव फेर्ने भएका छौँ । सांसद आफैँले पनि मैले केही थाहा नभएर हो म तत्काल सच्याउँछु भन्नु भएको छ । त्यो विषयलाई पार्टीले सच्याउने छ ।
स्वकीय सचिवलाई दिएको तलव भत्ता जनताले तिरेको कर हो । त्यो जुन प्रयोजनका लागि विनियोजन भएको हो त्यसैमा खर्च हुनु पर्ने हो । सांसदलाई दिएको जुन स्वकीय सचिवको सुविधा छ त्यो त सांसदलाई ऐन कानुन लगायत विविध विषयमा आवश्यक पर्दा सहयोग गर्न सक्ने व्यक्तिलाई नियूक्ति दिने हो । तर, हाम्रोमा के भयो त्यो स्वकीय सचिवको पदलाई जागिर खाने बाटो बनाईयो । जुन गलत हो । राज्यलाई के सहयोग गर्न सकिन्छ, के सेवा गर्न सकिन्छ भन्ने भन्दा पनि राज्यको कसरी दोहन गर्न सकिन्छ भन्ने मानसिकता छ । जसले गर्दा देशका हालत यस्तो अवस्थामा पुगेको छ ।
यसरी जान्छ स्वकीयको तलव सांसदकै खातामा
शीर्षक सभामुख÷अध्यक्ष सभापति सांसद
पारिश्रमिक ६७,३२० ६०,९७०.०० ५५,२३०
निजी सचिवालय १,९७,५१० १,१०,६३० ३०,५००
धारा बिजुली २,००० २,०००
सञ्चार सुविधा ३,००० ३,००० ३,०००
आवास २५,६०८ १८,००० (काठमाडौंमा घर हुनेलाई आधा घटाइने)
इन्धन २८,५०० २२,८०० ०
विशेष भत्ता १००० १,००० १,०००
मोविल २,५०० १,२५० ०
निजी सचिवालय बन्दोबस्त २,००० १,७५० ०
गार्डघर २,००० १,७५० ०
सामाजिक सुरक्षा कर, (कुल रकमबाट कटिने) २,२३१.४२ १४३९.६४ ६३८.३४
पारिश्रमिक कर (कुल रकमबाट कटिने) १९,३३२.९३ २०४३४.५१ (फरक पर्नसक्ने) ९३९२.०५(फरक पर्नसक्ने)
पार्टी लेबी (कुल रकमबाट कटिने) १३,००० (फरक पर्नसक्ने) १३,००० (फरक पर्नसक्ने)
जम्मा पाउने रकम २,८२,२६५.६५ १,९५,८८३.८५ (लगभग) ८६,६९९.६१ (सांसदको लगभग)

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।