केन्द्र र प्रदेशको चुनाव मंसिरको पहिलो साता हुन्छ दाहाल



सैघाली खबर
बुटवल, साउन २५। नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्र र प्रदेशको निर्वाचन मंसिरको पहिलो साता हुने वताउनु भएको छ ।प्रेस सेन्टर रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले दुवै तहको निर्वाचन एकै समयमा गर्न सकिने समेत वताउनुभयो । पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष दाहालले प्रदेश र केन्द्रको चुनाव एकैदिन गराउन सम्भव हुने र यसका लागि कुनै संवैधानिक अप्ठ्यारो नपर्ने उल्लेख गर्दै एउटै मतपत्र र बाकस बनाएर एकैदिन केन्द्र र प्रदेशको निर्वाचन गराउन सकिन्छ भन्नुभयो । केन्द्र र प्रदेशसभाको निर्वाचन मंसिरमा गर्ने विभिन्न विकल्पमा दलबीच छलफल भइरहेको र छिट्टै सहमतिमा पुगेर निर्वाचन घोषणा हुने बताउँदै उहाँले प्रत्यक्षका उम्मेदवारले प्राप्त गरेका मतलाई पनि समानुपातिकको मान्ने, धेरै मतदाता भएका मतदान केन्द्रमा बुथ संख्या थप्ने र एकै चरणमा निर्वाचन गर्न सकिने विकल्पहरुमा छलफल भइरहेको स्पष्ट पार्नुभयो ।

अध्यक्ष दाहालले केन्द्र र प्रदेशको एकैदिन निर्वाचन भयो भने चुनाव खर्च न्यून हुने बताउँदै नेपालको सन्दर्भमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक हुने धारणा व्यक्त गर्नुभयो ।पार्टी संगठन कमजोर र फुटका कारण स्थानीय तहको निर्वाचनमा पार्टीले अपेक्षाकृत नतिजा प्राप्त गर्न नसिकएको स्वीकार गर्दै उहाँले परिवर्तन र अग्रगामी निकासको पक्षमा पार्टी हुँदाहुँदै पनि स्थानीय तहको निर्वाचनमा अपेक्षाकृत नतिजा नआएको विषयमा पार्टीमा आन्तरिक छलफल भइरहेको जानकारी दिनुभयो ।अध्यक्ष दाहालले केही प्रवृत्ति र तत्वहरु यो संविधानलाई असफल बनाउन खोजिरहेका छन् तर त्यस्ता तत्व सफल हुन सक्दैन् भन्दै संविधान संशोधन प्रस्ताव पारित गराउन सरकारले चाँडै नै यसलाई प्रक्रियामा लैजाने बताउनुभयो ।तेस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता दल पनि सहभागी हुने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, “राजपा निर्वाचनमा नआए उसका लागि राजनीति आत्मघाती हुनेछ ।” प्रेस सेन्टर रुपन्देहीका अध्यक्ष भुवन कार्कीको अध्यक्षता सो कार्यक्रम सम्पन्न भयो । पार्टीको प्रदेश नं ५ स्तरीय आन्तरिक कार्यकर्ता भेलामा सहभागी हुन उहाँ बुटवल आउनुभएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्