नीता र रमेशले पाए ग्लोबल नेपाली फिल्म अवार्ड



अमेरिका : तेस्रो ग्लोबल नेपाली फिल्म अवार्ड २०१८ सम्पन्न भएको छ। अमेरिकाको कोलोराडोस्थित डेनबर सहरमा सम्पन्न अवार्ड समारोहमा यसपटक सर्वोत्कृष्ट अभिनेताको अवार्ड फिल्म भुइँमान्छेबाट रमेश बुढाथोकीले प्राप्त गरेका छन्।
यस्तै स्टार अफ दी इयरको अवार्ड अभिनेता प्रदीप खड्काले हासिल गरेका छन्। उनको २०७४ मा प्रेम गीत २ र लिलीबिली गरी दुई फिल्म सफल भएका थिए।

अवार्ड समारोहमा सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र पञ्चायतबाट नीता ढुंगानाले चुमिन्। सर्वोत्कृष्ट फिल्मको अवार्ड २०७४ को व्यावसायिक फिल्म छक्का पञ्जा–२ ले पाएको छ। यही चलचित्रकी निर्देशक दीपा श्री निरौलाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरिन्। चलचित्र छक्का पञ्जा २ बाट सहअभिनेताको अवार्ड पनि जितु नेपालले, सर्वोत्कृष्ट हास्य अभिनेताको अवार्ड केदार घिमिरे (माग्नेबूढा) र सर्वोत्कृष्ट छायाकारको अवार्ड पुरुषोत्तम प्रधानले प्राप्त गरे।

कलाकार एवम् प्राविधिकबीच विभिन्न १२ विधामा ग्लोबल नेपाली फिल्म अवार्ड प्रतिस्पर्धा भएको थियो। जसअन्तर्गत सर्वोत्कृष्ट सहअभिनेत्रीको अवार्ड चलचित्र कृबाट रूपा रानाले जितिन्। संगीततर्फको अवार्ड चलचित्र ऐश्वर्यको तिमी रोएको पलले प्राप्त गर्‍यो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्