भोजपुर । जिल्ला अदालतले हत्या अभियोगमा एक महिलालाई जन्मकैदको फैसला सुनाएको छ।
अदालतले टेम्केमैयुङ गाउँपालिका–९ लेखर्ककी २६ वर्षीया रीमा भनिने रेमकुमारी राईलाई जन्मकैदको फैसला गरेको हो।
अभियुक्त राईले सोही वडाकी स्थानीय ईश्वरमाया राईलाई गरगहना चोरेर दाउरा र ढुङ्गाले टाउकामा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।
न्यायाधीस हरिश्चन्द्र इङनामको एकल इजालसले मङ्गलबार सो फैसला गरेको हो। राईले २०६९ असोज ६ गते आफन्त ईश्वरमायालाई बाटोमा कुटपिट गरी हत्या गरेको आरोप थियो। पीडितका आफन्तले दिएको किटानी जाहेरीका आधारमा राईलाई पक्राउ गरिएको थियो।
त्यस्तै अदालतले बालिका जबर्जस्तीकरणी गर्न खोज्ने अरुण गाउँपालिका–४ चरम्बीका लालबहादुर श्रेष्ठलाई सात वर्ष कैद र ७५ हजार क्षतिपूर्तिको फैसला गरेको छ। श्रेष्ठले गत असोज १ गते सोही ठाउँकी ११ वर्षीया बालिकालाई गाई गोठमा लगेर करणी गर्न खोजेको भन्दै बालिकाका परिवारले उजुरी दिएपछि प्रहरी नियन्त्रणमा लिइएको थियो। रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।