प्रेमा शाह कवि तथा कथाकार हुन् । संवत् २००२ असार १६ गते वीरगञ्जको श्रीपुरमा जन्मिएकी शाहले छोटो समयमा नेपाली साहित्य भण्डारलाई निकै चर्चित कविता र कथाहरु दिएकी छन् ।
‘आउ मलाई सम्भोग गर’ कविता तथा पहेंलो गुलाफ जस्ता चर्चित कथा उनले लेखिकी छन् । ‘पहेँलो गुलाफ’को प्रकाशन नेपाली भाषासाहित्यमा यौनमनोवैज्ञानिक कथाको एउटा सशक्त उपलब्धी थियो । यौन मनोविज्ञानमा आधारित धेरै साहित्य सृजना गरेकी शाहका ६ वटा बालकथासङ्ग्रह र ३ वटा बालउपन्यास प्रकाशित छन् ।
प्रेमा शाह आफ्नो कविता ‘सूर्यसँग संभोग’ र ‘पहेंलो गुलाब’, ‘लोग्ने’ आदि कैयौं कथामार्फत एउटा ‘बोल्ड’ लेखिकाको रूपमा पनि अत्यन्त चर्चित थिइन् ।
प्रेमा शाहको यौवनावस्था र गार्हस्थ्य जीवन भने त्यति राम्रो भने भएन । भारतका जमिन्दार जे.पी. शाहीसँग २०२८ साल असार १८ गते यिनको विवाह भयो । बिहेपछि प्रेमा शाह बनारस पढ्न गइन् ।
त्यसै समयमा उनले बनारस हिन्दू विश्वविद्यालयबाट बाटिक पेन्टिङ्गमा डिप्लोमा गरिन् । साथै त्यहाँ उनले सेरामिक्सको पनि अध्ययन गरिन् । तर शाही दम्पती नेपाल फर्केपछि लगत्तै यिनीहरूको पारपाचुके भयो ।
लोग्नेसँग सम्बन्धविच्छेद भएपछि कलासम्बन्धी अध्ययन गर्न उनी जापानतिर लागिन् । त्यहाँबाट फर्केपछि प्रेमा शाहले काम खोजिन् र बानेश्वरको एभरेस्ट सेराटन होटलमा जागिर खान थालिन् ।
त्यसै बीचमा उनको परिचय आर.एम. कर्माचायर्सँग भयो ।२०३८ मा उनीहरुले बिहे गरे । बिहे गरेको एक वर्षपछि जल शाह छोरीका रूपमा जन्मिइन् । जल शाह नेपालकी चर्चित नायिका हुन् ।
नेपाली साहित्यमा यौन मनोविज्ञान र विशेषत फ्राइडियन शिल्पी भित्र्याउने प्रखर कथाकार प्रेमा शाहको ७३ वर्षको उमेरमा अमेरिकाको युटाह राज्यको साल्टलेकस्थित इन्टर माउन्टेन हस्पिटलमा२० डिसेम्बर २०१७मा निधन भयो ।
Source : osnepal
https://youtu.be/0fhddCkjv4A

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।