सांसदका लिखित र मौखिक प्रश्नको सरकारद्वारा उपेक्षा



काठमाडौ । सांसदहरूले सोध्ने गरेका लिखित तथा मौखिक प्रश्नको जवाफ नदिई सरकारले उपेक्षा गर्दै आएको छ । संसद् नियमावलीअनुसार सांसदले सरकारलाई लिखित तथा मौखिक रूपमा प्रश्न सोध्न सक्छन् । सम्बन्धित मन्त्रालयले त्यस्ता प्रश्नको जवाफ दिनुपर्ने भए पनि बेवास्ता हुँदै आएको छ ।  संघीय संसद्को हिउँदे अधिवेशन प्रारम्भ भएको दुई साता नपुग्दै प्रतिनिधिसभाको प्रश्न व्यवस्थापन शाखामा २ वटा लिखित र ११ वटा मौखिक प्रश्न दर्ता भइसकेका छन् । यसअघि वर्षे अधिवेशनमा समेत सांसदहरूले २२ वटा मौखिक तथा ४ वटा लिखित प्रश्न सरकारलाई गरेका थिए । संघीय मामिला तथा सामान्य प्रशासन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सोधिएका अधिकांश प्रश्नको जवाफ आएन ।

संसद् नियमावलीअनुसार सांसदहरूले सोधेका लिखित वा मौखिक प्रश्नको बढीमा १० दिनभित्र सम्बन्धित मन्त्रीले जवाफ दिइसक्नुपर्छ । त्यस्तै, प्रतिनिधिसभाको नियमावलीको परिच्छेद ८ मा सांसदहरूले प्रश्न गर्न सक्ने र परिच्छेद ९ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने व्यवस्था छ । नियमावलीअनुसार प्रश्न गर्ने अधिकार प्रयोग गर्न नपाएको भन्दै प्रमुख विपक्षी दल कांग्रेसले संसद्मै आवाज उठाउँदै सदन अवरुद्ध गरेपछि सचिवालय यतिवेला प्रश्न संकलन गर्ने र सरकारलाई पठाउने काममा व्यस्त देखिएको छ ।

 अबको साताबाट प्रश्नोत्तर कार्यक्रम : सभामुख
सभामुख कृष्णबहादुर महराले आगामी साताबाट प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने बताए । ‘कार्यव्यवस्था परामर्श समितिमा हामीले सल्लाह गरेका छौँ । अर्को साताबाट प्रश्नोत्तर कार्यक्रम अघि बढाउने तयारी गरिरहेका छौँ,’ सभामुख महराले नयाँ पत्रिकासँग भने, ‘हामी प्रश्न संकलन गरिरहेका छौँ ।’  प्रधानमन्त्रीसँग कुनै पनि महिनाको पहिलो र तेस्रो साताको पहिलो बैठकमा सुरुको एक घन्टा प्रश्नोत्तर गर्ने व्यवस्था छ । त्यस्तै, नियमावलीको परिच्छेद ८ अनुसार सांसदहरूले सोधेका लिखित वा मौखिक प्रश्नको जवाफ मन्त्रीले १० दिनभित्र लिखितको लिखित र मौखिक प्रश्नको मौखिक रूपमा दिनुपर्ने व्यवस्था छ । तर, यो व्यवस्थासहित नियमावलीको दफा २१९ को प्रधानमन्त्री तथा मन्त्रीहरूले कुनै सार्वजनिक महत्वको प्रस्तावमाथि संसद्मा सम्बोधन गर्दा सांसदहरूले प्रश्न सोध्न सक्ने भन्ने व्यवस्था कार्यान्वयन नभएकामा प्रमुख विपक्षी दलले यसअघि संसद् अवरुद्ध गरिसकेको छ । कार्यान्वयन नभए अझै सदन अवरुद्ध गर्ने कांग्रेसको चेतावनी छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्