मुख्य समाचार

बिमस्टेकको बैठक आज

By थाहा अनलाइन

August 10, 2017

सैघाली खबर काठमाडौं,२६ साउन

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिमस्टेक) को बैठक आज राजधानीमा सुरु हुँदैछ । बैठकमा भाग लिन सातै सदस्य राष्ट्रका विदेश सचिवलगायत अधिकारी काठमाडौं आइपुगेका छन् । आज अपराह्नसम्म विदेशमन्त्रीहरू काठमाडौं आइपुग्ने छन् । भारत, श्रीलंका, बंगलादेश र भुटानका विदेशमन्त्रीहरू क्रमशः सुष्मा स्वराज, रवि करुणनायके, अबुल हसन महमुद अली र दाम्चो दोर्जी बिहीबार नै काठमाडौं आइपुग्ने छन् । आसियन मुलुकहरू थाइल्यान्ड र म्यान्मारबाट उपविदेशमन्त्रीले पनि बैठकमा सहभागिता जनाउने छन् । अघिल्ला बैठकमा पहिचान भएका व्यापार, लगानी, प्रतिआतंकवाद, गरिबी निवारण, यातायात, पर्यटन, सञ्चार, ऊर्जा, कृषि, जनस्वास्थ्य, वातावरण तथा प्राकृतिक विपत्ति र जलवायु परिवर्तनजस्ता एक दर्जनभन्दा बढी विषयमा बैठकमा छलफल हुनेछ । तेस्रो शिखर सम्मेलन र यसअघिका मन्त्रीस्तरीय बैठकका निर्णय कार्यान्वयनको समीक्षाका साथै बिमस्टेकअन्तर्गतका पारस्परिक सहयोगका विषयलाई द्रुत गतिमा कार्यान्वयन गर्नेबारे १५ औं बैठक केन्द्रित हुने जनाइएको छ । बिमस्टेकका निर्णय कार्यान्वयन समीक्षाका लागि आज बिहानदेखि परराष्ट्र सचिवस्तरीय बैठक बस्नेछ । मन्त्रीस्तरीय बैठक दिउँसो सुरु हुनेछ । बैठकको उद्घाटन बिमस्टेकका अध्यक्षसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुनेछ । बैठकको पहिलो दिन नै देउवाले आज विदेशमन्त्रीहरूलाई सामूहिक रूपमा भेट पनि गर्नुहुनेछ ।