काठमाडौं । सभामुख कृष्णबहादुर महराले पुँजीवादी व्यवस्थाले देश र जनताको भलो गर्न नसक्ने बताएका छन् ।पुँजीवादले ‘एक्लै कमाउँ र एक्लै खाउँ’ भन्ने हुनाले पुँजीवादी व्यवस्थामा आम जनताको उन्नती नहुने सभामुख महराको भनाई छ । समाजवादले नै सामुहिकतामा जोड दिने हुनाले सामूहिक लगानी, सामूहिक काम र सामूहिक आयआर्जनबाटै देश र जनता सुखी हुनेमा उनले जोड दिए ।शनिबार काठमाडौंको दक्षिणकाली नगरपालिका–५ फर्पिङस्थित आम सरोकार बहुउद्देश्यीय सहकारी संस्था लि.को नवौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै महराले सहकारी संस्था समाजवादको सानो नमूना भएको उल्लेख गरे ।
महराले सहकारीमार्फत सामूहिकरुपमा स्थानीय उत्पादनमा जोड दिनुपर्ने बताए ।‘जब हामीले आयात धेरै गर्छौं र निर्यात कम गर्छौं भने हामी गरीब हुन्छौं । नेपाल गरीब हुने कारण भनेकै ८० प्रतिशत आयात र जम्मा २० प्रतिशत मात्रै निर्यात हुनाले हो ।’ महराले भने, ‘ब्यक्तिसँग रहेको सानो पुँजी भन्दा सहकारीमार्फत एकत्रित गरेको ठुलो पुँजी लगानी गरेर बढी उत्पादन गरी हामीले धेरै निर्यात गर्न सक्छौं ।’
उनले गाउँ घरका कान्लाहरुमा तितेपाती खेर गईरहेको उदाहरण दिँदै हामीकहाँ निर्यातमुखि सामान उत्पादनको प्रशस्त सम्भावना रहेको औंल्याए । ‘हामीले बजारबाट किनेर बाल्ने धुप भन्दा तितेपातीको दानालाई घ्युमा भिजाएर बाल्दा सबैभन्दा मिठो बास्ना आउँछ । त्यसले बाहिरबाट किनिने अगरबत्ती बिस्थापन गर्न सकिन्छ’ उनले उदाहरण दिँदै बताए ।सभामुख महराले स्थानीय उत्पादन र स्थानीय सामानको प्रयोगसँगै आर्थिक समृद्धिका लागि निर्यातमुखि हुनुपर्ने पनि सुझाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।