बलिउड अभिनेत्री कट्रिना केफका वर्ष २०१८ मा २ वटा फिल्महरु रिलिज भएका थिए । फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ मा अभिनेता आमिर खानका साथ र अर्को फिल्म ‘जीरो’ मा अभिनेता शाहरुख खानका साथ कट्रिनाले स्क्रिन सेयर गरेकी थिइन् ।
बलिउडका दुई सुपरस्टार अभिनेताहरुका साथ काम गरेकी कट्रिनाका दुबै फिल्म बक्स अफिसमा भने असफल साबित भए ।
बलिउडमा फिल्मको असफलता पछि अभिनेत्री कट्रिना केफ अब छिट्टै नै साउथ फिल्मका सुपरस्टार महेश बाबूका साथ अभिनय गर्ने खबर सार्वजनिक भएको छ ।
अभिनेता महेश बाबू यतिबेला फिल्म ‘महर्षि’ को छायांकनमा ब्यस्त छन् । महेश बाबूको यस पछिको फिल्ममा उनको जोडीको रुपमा अभिनेत्री कट्रिना केफलाई कास्ट गर्ने तयारी भइरहेको छ ।
साउथ फिल्म निर्देशक सुकुमार महेश बाबूका साथ फिल्म बनाउने तयारी गरिरहेका छन् । साथै उनको अब बन्ने फिल्मका लागि निर्माताहरुले बलिउडका कयौं अभिनेत्रीहरुका बारेमा छलफल गरेपश्चात यस फिल्ममा कट्रिना केफलाई कास्ट गर्ने निर्णय गरेका छन् ।
निर्देशक सुकुमारले कट्रिना समक्ष उनको अब बन्ने फिल्मका लागि प्रस्ताव पनि राखिसकेका छन् । अहिले यस फिल्मको स्क्रिप्टको काम चलिरहेको छ । फिल्ममा धेरै जसो कलाकारहरुको टुंगो पनि लागिसकेको छ ।
साउथ फिल्मका सुपरस्टार महेश बाबू अहिलेसम्म बलिउड फिल्ममा डेब्यू गरेका छैनन् । तर महेशले छिट्टै नै बलिउड फिल्ममा डेब्यू गर्न सक्ने चर्चा पनि भइरहेको छ ।
तर अहिले भने महेश उनको फिल्म ‘महर्षि’ को काममा व्यस्त छन् । साथै उनले निर्देशक सुकुमारको अहिले नाम सार्वजनिक नगरिएको फिल्म साइन गरिसकेका छन् ।
कट्रिना केफले यस फिल्मलाई साइन गरिन् भने यो उनको तेस्रो साउथ फिल्म हुनेछ । यस अघि उनले अभिनेता वेन्कटेश दग्गुबातीका साथ फिल्म ‘मालिसवारी’ र अभिनेता नन्दामुरी बालाकृष्णका साथ ‘अल्लारी पिद्दुगु’ मा काम गरिसेकी छिन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।