पानी जहाजमा काम गर्नेका लागि अब ‘सी म्यान’ राहदानीको व्यवस्था



सरकारले पानी जहाजमा काम गर्ने नागरिकहरुका लागि ‘सी म्यान’ राहदानीको व्यवस्था गर्ने भएको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पानी जहाजमा काम गर्ने नागरिकहरुका लागि ‘सी म्यान’ राहदानीको व्यवस्था गर्न लागिएको जानकारी गराउनु भएको हो ।

आइतबार संघीय संसदको विधायन व्यवस्थापन समितिको बैठकमा ‘राहदानीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक,२०७५’ माथिको छलफलमा भाग लिँदै उहाँले पानी जहाजमा काम गर्ने नेपाली नागरिकहरुको अभिलेख राख्न पनि सो साहदानी दिने कानुनी व्यवस्था गर्न लागिएको स्पष्ट पार्नु भयो ।

परराष्ट्रमन्त्री ज्ञवालीले राहदानी दुरुपयोग हुन नदिन विद्युतीय राहदानीको व्यवस्था गर्न लागिएको पनि बताउनु भयो । राहदानी मुलुकको प्रतिष्ठासँग जोडिएको दस्तावेज भएकाले यसको स्तरोन्नति पनि गर्ने मन्त्री ज्ञवालीको योजना छ ।

बैठकमा समितिका सदस्यहरुले सांसदहरुलाई कूटनीतिक राहदानी लिन अप्ठयारो बनाउने गरी विधेयकमा प्रावधान राखिएको भन्दै सरकारको चर्को आलोचना गरेका थिए ।

समितिका सदस्य एवं नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले कानुनले परिभाषित गरेका ‘सांसदहरुलाई पनि कूटनीतिक राहदानी लिन संसद सचिवालयको सिफारिस चाहिने’ भनि विधेयकमा गरिएको व्यवस्थाप्रति आपत्ति जनाउनु भएको हो ।

उहाँले कानुनी मान्यता प्राप्त सांसदहरुलाई सांसद भएकै मितिबाट जहिले पनि कूटनीतिक राहदानी लिन पाउने सहज व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयो ।

समितिका अर्का सदस्य राधेश्याम अधिकारीले स्पष्ट ऐनमै व्यवस्था गर्नुपर्ने कतिपय विषयलाई पनि सरकारले निर्देशिका र कार्यविधिको भरमा अघि बढाउने गरी सो विधेयक आएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भयो ।

उहाँले राहदानीको कानुनी व्यवस्था गर्दा नियमावली र कार्यविधितर्फ भर नपर्ने प्रावधान राख्न पनि सरकारलाई सचेत गराउनु भयो ।समितिका सदस्यहरुले राहदानीको दुरुपयोग हुन नदिन पनि सरकारलाई सचेत गराएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्