सिरियाबाट सेना फिर्ता गर्ने निर्णयबाट किन पछि हट्यो अमेरिका ?



अमेरिकाले सिरियामा तैनाथ आफ्नो सेनालाई तत्काल फिर्ता नगर्ने भएको छ । यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाट आफ्नो सैन्य सदस्यहरू तत्काल फिर्ता गर्ने घोषणा गरेका थिए । अमेरिकाको प्रतिरक्षा मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘तत्कालका लागि हामी सैनिक फिर्ता गर्दैनौँ, तर केही उपकरण या सामग्री भने फिर्ता हुन्छन् ।’

 ट्रम्पको घोषणाबाट प्रायः असन्तुष्ट

राष्ट्रपति ट्रम्पले सिरियामा तैनाथ अमेरिकी सेना स्वदेश फिर्ता गर्ने बताए पनि ह्वाइटहाउस र रक्षा मन्त्रालयका अधिकारीहरूले विरोध गर्दै आएका छन् । ट्रम्पको घोषणापछि असन्तुष्ट हुँदै रक्षा मन्त्रालयबाट जेम्स म्याटिसले राजीनामा दिएका छन् ।

त्यस्तै, गत साता मात्र रक्षा मन्त्रालयका चिफ अफ स्टाफ केभिन स्विनेले राजीनामा दिएका थिए । ट्रम्पको निर्णयप्रति असन्तुष्ट बनेर उनले राजीनामा दिएको बताएका थिए । सिरियामा तैनाथ सेना कहिलेदेखि फिर्ता गर्ने भन्ने विषयमा अहिले ट्रम्प प्रशासन मौन छ । चौतर्फी विरोधपछि ट्रम्प पूर्ववत् निर्णयबाट पछि हटेको हुन सक्ने अनुमान गरिएको छ ।


कहाँ खटिएका छन् अमेरिकी सेना ?

अमेरिकाले सिरियामा रहेका गैरसैनिक सहयोगका उपकरण तथा सामग्री फिर्ता गर्नेछ । अमेरिकाले विशेषगरी सिरियाको उत्तरपश्चिमी क्षेत्रका रेमिलान, हासाकेह प्रान्तमा बढी मात्रामा सैनिक तैनाथ गरेको छ । ती क्षेत्रमा सिरियाली सरकारसमर्थक समूह, सिरियाली सैनिक र आइएससमर्थनको मुस्लिम जिहादी समूहको बढी प्रभाव छ ।

सो क्षेत्रका नागरिकको सुरक्षाका लागि अमेरिकी नेतृत्वमा केही देशले त्यहाँ सेना पठाएका छन् । अमेरिकाको नेतृत्वमा स्थापना भएको सिरिया सहयोग समूहका तर्फबाट पनि त्यहाँ सेना खटिएका छन् । ती सैनिकले इस्लामिक जिहादीहरूका विरुद्धमा कारबाही गर्ने गर्दछ ।

निर्णय भइसकेको छैन

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता कमान्डर सिन रोबर्टसनले अमेरिकाले सिरियाबाट सेना फिर्ता गर्नेबारेमा छलफल भएको तर कहिले फिर्ता हुने बारेमा कुनै निर्णय नभएको बताए । उनले भने, ‘सिरियाबाट हाम्रा सेना फर्किने विषयमा एकतर्फी निर्णय हुँदैन ।

सिरियामा हामीलाई साथ दिइरहेका देशहरूसँग पनि आवश्यक परामर्श गरेर फिर्ता गर्ने निर्णय हुनेछ ।’ उनले अबका केही दिनमा सिरियाको वास्तविकता हेरेर, शान्ति सुरक्षा या अन्य कारणले के कति सेनाको आवश्यकता पर्छ भन्नेबारेमा विश्लेषण गरेर मात्र सेना फिर्ता गर्नेबारेमा निर्णय गरिने बताए ।

अमेरिकी राष्ट्र«पति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले सिरियाबाट सेना फिर्ता गर्नेबारेमा गठबन्धन सेनाले केही सर्त पूरा गर्नुपर्ने बताएका छन् । तर, ती सर्त के हुन् भन्नेबारेमा उनले केही खुलाएनन् ।

प्रतिकृया दिनुहोस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्