काठमाडौं– बोधी श्रवण धर्म संघले ‘लिटिल बुद्ध’को नामले चर्चित आफ्ना धर्म गुरु रामबहादुर बमजनमाथि आश्रममै आनीहरुलाई बलात्कार, हत्या तथा बेपत्ता पारेको समाचार आइरहेकोमा आपत्ति जनाएको छ ।
संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्ना गुरु वमजनले त्यस्ता कुनै पनि गतिविधि नगरेको दावी समेत गरेको छ । करोडौं जनताको विश्वासको धरोहर आफ्ना गुरु वमजनमाथि चेलाहलाई हत्या, बलात्कार र वेपत्ता पारेको भनि आएको समाचार सत्य नरहेको संघका अध्यक्ष निलबहादुर थिङ्गले दावी गरे ।
उनले भूकम्पका बेला सम्पर्कमा नआएका आनीहरुबारे सम्बन्धित परिवारले खोजी गरेको विषयलाई लिएर आफ्ना गुरु बमजनमाथि आरोप लगाइएको भन्दै आपत्ति पनि जनाए । आफूहरुको आश्रमबाट कसैमाथि पनि हत्या, बलात्कार लगायतका घटना नभएको बमजन संरक्षक रहेको संघको दावी छ ।
संघले आफ्ना गुरु बमजनमाथि मुलुकमा सामाजिक सद्भाव बिथोल्न खोज्नेहरुले झूटा आरोप लगाएको भन्दै भ्रमणमा नपर्न पनि सबैलाई आह्वान गरेको छ । बमजनमाथि आश्रममै आफ्ना चेलाहरुलाई बलात्कार गरेको, वेपत्ता पारेको लगायतको आरोप लगाइएको छ भने त्यससम्बन्धमा प्रहरीले पनि बाराको हलखोरिया, सिन्धुपाल्चोकको धापसारा आश्रममा अनुसन्धान सुरु गरेको छ । संघका अध्यक्ष थिङ्गले सो घटनाबारे सत्यतथ्य तत्काल बाहिर ल्याउन पनि सरकारसँग माग गरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।