मुख्य समाचार

जग्गा खण्डीकरण गरी जथाभावी घडेरीका रूपमा बिक्री गर्न नपाइने

By थाहा अनलाइन

August 11, 2017

सैघाली खबर काठमाडौं , २७ साउन

अबदेखि कृषियोग्य जग्गा खण्डीकरण गरी जथाभावी घडेरीका रूपमा बिक्री÷वितरण गर्न नपाइने भएको छ । भूमिसूधार तथा व्यवस्था मन्त्रालयले भूमिसम्बन्धी ऐन, २०२१ बमोजिम जग्गा कित्ताकाट गरी घडेरीका रूपमा बिक्री नगर्न निर्देशन जारी गरेसँगै जथाभावी प्लटिङ् गर्न नपाइने भएको हो । खाद्य सुरक्षा र खाद्य सम्प्रभुताको संवैधानिक प्रत्याभूतिलाई सुनिश्चित गर्नका लागि यस्तो निर्देशन जारी गरिएको मन्त्रालयले जनाएको छ । कुनै सीमित कित्ता जग्गा, जग्गाधनीले एक आर्थिक वर्षमा एक पटकभन्दा बढी कित्ताकाट गरी बिक्री÷वितरण गर्न नपाइने पनि मन्त्रालयले जनाएको छ । निर्देशन कार्यान्वयन गर्ने प्रयोजनका लागि ‘कृषि योग्य जमिन’ भन्नाले जग्गा (नापजाँच) ऐन, २०१९ बमोजिम पुनः नापजाँच भएका क्षेत्रमा जग्गा (नापजाँच) नियमावली, २०५८ को नियम २० बमोजिम कृषि क्षेत्र उल्लेख भएका जग्गा र पुनः नापजाँच हुन बाँकी रहेको क्षेत्रमा साबिकमा नापजाँच हुँदा फिल्डबुक तथा पूर्जामा धनहरतर्फ अब्बल, दोयम, सिम र भीर पाखातर्फ अब्बल र दोयम कायम रहेका जग्गा पर्ने जनाइएको छ ।