असी वर्षपछि अस्पतालमा फार्मेसी सेवा



नवलपरासी, २७ साउन । स्थापना भएको करिब ८० वर्षपछि नवलपरासी जिल्लाको पृथ्वी चन्द्र अस्पतालमा फार्मेसी सेवा शुरु भएको छ ।

पटक पटकको अथक प्रयासपछि मन्त्रालयले रकम उपलब्ध गराएपछि जिल्लाको एक मात्र पृथ्वीचन्द्र अस्पतालले फार्मेसी सेवा सञ्चालन गरेको हो । नाफामूलकभन्दा पनि सेवामूलक भावनाले फार्मेसी सेवा सञ्चालन गरिएको अस्पताल विकास समितिका अध्यक्ष सन्तोष श्रीवास्तवले जानकारी दिनुभयो ।

चौबिसै घण्टा र बाहिर औषधि पसलभन्दा सस्तो मूल्यमा औषधि उपलब्ध गराउने उद्देश्यले अस्पतालमै फार्मेसी सेवा शुरु भएको हो । यस अगावै यस जिल्ला अस्पतालमा अस्पतालले फार्मेसी सेवा सञ्चालन गर्न सकेको थिएन ।

यद्यपि ढिलै भएपनि अस्पतालभित्रै फार्मेसी सेवा शुरु हुनाले बिरामीलाई निकै सजिलो हुने अपेक्षा गरिएको छ । अस्पतालभित्र अन्य सेवा भएपनि फार्मेसी सेवा नभएको कारणले बिरामीलाई औषधि लिनका लागि अस्पतालबाहिर भएको क्लिनिकमा जानुपर्ने बाध्यता रहँदै आएको थियो । तर अब बाहिरभन्दा निकै सस्तो र अस्पताल परिसरभित्रै चौबिसै घण्टा सेवा सञ्चलान हुने यस फार्मेसीका कारण बिरामीलाई थप सहजता हुने पक्का छ ।

हालै मात्र ५० श्ययाको क्षमता विस्तार भएको यस अस्पतालमा दिनहँु करिब १५० जना बिरामी आउने गरेका छन् । यस अस्पतालमा ५३ जना जनशक्तिको दरबन्दी भएपनि हाल २१ जना मात्र जनशक्तिले काम चलाउनु पर्दा प्रभावकारी सेवा प्रवाह गर्न कठिनाइ हँुदै आएको छ । रासस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्