काठमाडौ । रेल खरीद प्रक्रिया अगाडि बढाइने भएको छ । मन्त्रिपरिषद्को गत पुस २९ बसेको बैठकले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई रेल खरीदका लागि सैद्धान्तिक स्वीकृति दिएको हो ।जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढिरहेका बेला सरकारले सरकारी तहमा नै रेल इञ्जिन खरीद गर्न लागेको हो । कूल ३५ किलोमिटर लामो उक्त रेलमार्गमा रेल चलाउने तयारी भइरहेका बेला सरकारले सरकारी तहमा नै छलफल गरेर भारतसँग रेल खरीद गर्न लागेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले रेलमार्ग सञ्चालनमा ल्याउने उद्देश्यका साथ रेल गाडी खरीद प्रक्रिया अगाडि बढाउन भौतिक मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिइएको जानकारी दिए । यस्तै पानीजहाज सञ्चालनका लागि आवश्यक कार्यालय तथा सङ्गठन संरचना र दरबन्दी स्वीकृत गरिएको छ । सो कार्यालयमा इञ्जिनीयरिङ सेवाका उपसचिवस्तरका एक व्यक्तिलाई रजिष्ट्रारका रुपमा जिम्मा दिइने भएको छ । कार्यालयमा अन्य कर्मचारीसहित १६ जनाको दरबन्दी स्वीकृत गरिएको छ । यस्तै मन्त्रीको तलब र अन्य सुविधावापत भुक्तानी हुने रकम अब आफ्नै मन्त्रालयबाटै हुने गरी व्यवस्था मिलाइएको छ । यसअघि मन्त्रीको तलब तथा सुविधा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट लिइने व्यवस्था थियो । मन्त्रिपरिषद्ले अबदेखि मन्त्रीको तलब तथा सुविधा मन्त्रालयबाटै दिइने गरी व्यवस्था मिलाएको मन्त्री बाँस्कोटाले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।