काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले ३३ किलो सुन प्रकरणको आदेश र फैसलामा संलग्न पाँच न्यायाधीशलाई छानबिनका लागि बिहीबार न्याय परिषद्मा झिकाएका छन्। सर्वोच्च उच्च स्रोतका अनुसार विराटनगर उच्च अदालतबाट काजमा तानिएका न्यायाधीशमा नागेन्द्र लाभ कर्ण, थीरबहादुर कार्की, उमेशकुमार सिंह, उमेशराज पौडेल र सारंगा सुवेदी रहेका छन्।
न्याय परिषद्को गत साता विराटनगरमा भएको निरीक्षणका क्रममा प्राप्त गुनासा र उजूरीका आधारमा उनीहरुलाई छानबिनका लागि तानिएको हो। छानबिन नसकिदासम्म उनीहरुलाई न्याय परिषद्मै हाजिर गराइने छ। सुन प्रकरणमा कानुनको बलजफ्ती गर्दै उन्मुक्ति दिएको गुनासो र उजूरी प्राप्त भएपछि परिषद्को सुक्ष्म निगरानी संयन्त्रले प्रतिवेदन बुझाएको थियो। सोही प्रतिवेदनका आधारमा प्रधानन्यायाधीशले पाँच न्यायाधीशलाई परिषद्मा हाजिर गराउने निर्णय लिएका हुन्। यद्यपी यो विषयमा परिषद्का अन्य पदाधिकारीबीच छलफल भने नभएको जानकारीमा आएको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।