सुनकाण्डमा निर्णय दिने पाँच न्यायाधीश कारबाहीमा



काठमाडौं । सनम शाक्य हत्या र ३३ किलो सुनकाण्डको फैसला दिने विराटनगर उच्च अदालतका पाँच न्यायाधीशलाई जिम्मेवारीमुक्त गरिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले पाँच न्यायाधीशलाई जिम्मेवारीमुक्त गराउँदै न्याय परिषदमा हाजिर गराउने निर्णय गरेका छन् ।

उनीहरुले आजदेखि मुद्दाको सुनुवाई गर्न पाउनेछैनन् । राणाले प्रधानन्यायाधीशको जिम्मेवारी लिएलगत्तै निगरानी समिति बनाएका थिए । निगरानी समितिको प्रतिवेदनका आधारमा उनीहरुलाई न्यायपरिषदमा हाजिर गराउने निर्णय भएको हो ।

स्रोतका अनुसार न्यायाधीशहरु नगेन्द्रलाभ कर्ण, थीरबहादुर बम, शारङ्गा सुवेदी, उमेशकुमार सिंह र उमेशराज पौड्याललाई प्रतिवेदनका आधारमा छानबिनको दायरामा ल्याइएको हो ।

प्रतिवेदन अब बस्ने न्याय परिषद्को बैठकमा पेस गरिने भए पनि प्रधानन्यायाधीश राणाको विशेष निर्देशनमा यस्तो निर्णय गरिएको स्रोत बताउँछ । सनम शाक्य हत्या र ३३ किलो सुनकाण्डमा जिल्ला अदालत मोरङको निर्णयविपरीत धेरै अभियुक्तलाई तारेखमा रिहा गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्