बेँसीशहर नगरपालिका–११ चितीका नन्दनिधि पाण्डेको आधा उमेर खरको छानाको घरमा बित्यो। कमजोर आर्थिक अवस्थाका कारण जस्ताको छानो हाल्न नसकेका उनको सपना यसपालि पूरा भएको छ।
बेँसीशहर नगरपालिकाको नगर क्षेत्रमा विपन्न तथा खरका छाना भएका घरमा जस्तापाता लगाउने अभियान चलाएकाले पाण्डेले पनि जस्तापाता पाएका हुन्।
उनलाई बिहीबार नौ फुटको १६ थान तथा छ फुटको १८ थानजस्ता र किलाकाटी तथा अन्य व्यवस्थापनका लागि रु १० हजार प्रदान गरिएको बेंसीशहर नगरप्रमुख गुमानसिंह अर्यालले बताए।
उक्त नगरपालिका–३ गाउँशहरका एकल महिला शुकमाया सार्कीले पनि सात फुटको १० थान र छ फुटको १२ थान गरी २२ थान जस्तापातासँगै रु १० हजार पनि बुझे।
पाण्डे र सार्कीसँगगै नगरपालिकाले वितरण गरेको जस्तापाता १२ जनाले लगिसकेको बेंसीशहर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारीले जानकारी दिए।
विपन्न नागरिक लक्षित कार्यक्रमअन्तर्गत नगरपालिकाले नगरभित्रका खरले छाएका घरको छाना हटाई जस्तापाताले छाउने अभियान अन्तर्गत घरको तथ्याङ्क सङ्कलन गरिसकेपछि त्यस्ता घरलाई जस्तापाताले छाउन पहल गरिएको नगरप्रमुख अर्यालले बताए।
नगरपालिकाभित्रका कुनै पनि ठाउँमा खरको छानो राख्दैनौँ भन्दै उनले विपन्न नागरिकको घर जस्तापाताले छाउनका लागि आर्थिक वर्ष २०७५/७६ मा रु २१ लाख बजेट विनियोजन गरिएको र आगामी आर्थिकवर्षसम्म नगरपालिकाभित्रका सबै खरको घरलाई टिनले छाउने लक्ष्य रहेको बताए।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।