प्रदेश सरकार गठन भएको पनि वर्ष दिन हुन लाग्यो । तर अझै पनि चारवटा प्रदेशले नाम र राजधानीको टुंगो लगाउन सकेका छैनन् । प्रदेश १, २, ३ र ५ ले नाम र स्थायी राजधानी तोक्न नसकेका हुन् ।
प्रदेश ४, ६ र ७ ले भने यसअघि नै नाम सहित स्थायी राजधानी तोकिसकेका छन् । ४ नम्बर प्रदेशले नाम गण्डकी र स्थायी राजधानी पोखरा, ६ ले कर्णाली र राजधानी सुर्खेत तथा ७ ले सुदूरपश्चिम नाम र राजधानी कैलालीको गोदावरी तोकेका हुन् ।
नाम र राजधानी टुंगो लगाइसकेपछि यी प्रदेश अरु काममा लागेका छन् । तर बाँकी चारवटा प्रदेश चाहिँ नाम र राजधानीकै बहसमा अल्झिएका छन् ।
प्रदेश १
प्रदेश १ मा अस्थायी मुकाम विराटनगरबाटै प्रदेश सरकारका काम हुने गरेका छन् । १ मा विराटनगर, इटहरी र धनकुटा स्थायी राजधानीमा रुपमा चर्चामा छन् । किराँत सगरमाथा, सगरमाथा, कोशी जस्ता नाममा छलफल चलेको छ ।
प्रदेश १ ले यसअघि असार मसान्तभित्र नाम र राजधानी तोकिसक्ने भने पनि त्यसको ६ लम्बिसक्दा समेत प्रदेश सभामा अझै पनि नाम र राजधानीबारे छलफल भएको छैन । प्रदेश १ को अधिवेशन माघ २० गते देखि सुरु हुनेछ । तर नाम र राजधानी भने चैतसम्ममा टुङगो लगाउने योजना छ ।
मुख्यमन्त्री शेरधन राईले चैत मसान्तसम्म प्रदेशको नाम र राजधानीको विषय तय भैसक्ने बताउनुभएको छ । नाम र राजधानीको विषय सकेसम्म सहमतिबाट नै तोक्ने भनेर दलहरुबीचमा उच्चस्तरमै निर्णय भएको भन्दै उहाँले त्यही आधारमा टुङग्याउन लागिपरेको बताउनुभयो ।
प्रदेश २
प्रदेश २ मा नाम र राजधानीको बहस जटिल बन्दै गएको छ । राजधानी जनकपुर र बीरगंज अनि नाम मिथिला, मधेस प्रदेश, मिथिला भोजपुराको विषयमा बहस भैरहेको छ ।
‘राजधानी र नाम तोक्ने विषय स्वभाविक रुपमै जटिल छ’ प्रदेश २ का वन तथा पर्यटन राज्यमन्त्री सुरेश यादवले भन्नुभयो, ‘एउटा अध्ययन आयोग बनाएर काम भैरहेको छ । आयोगले काम अन्तिम चरणमा पुर्याएको छ, हरेक जिल्लाबाट राय सुझाव पनि संकलन भएका छन् । अब विपक्षीसँग पनि छलफल गरी माघ दोस्रो हप्तादेखि चल्ने हिउँदे अधिवेशनमा पेश गर्ने तयारी छ ।’ उहाँले प्रदेश दुईको नाम र स्थायी राजधानी लगभग टुँगिने बेला आएको समेत दावी गर्नुभयो ।
प्रदेश ३
प्रदेश ३ मा पनि स्थायी राजधानी तोक्ने विषयमा नेकपा भित्रै मतभेद छ । प्रदेश ३ को राजधानीमा अहिले स्थायी मुकाम रहेको ठाउँ हेटौंडा बाहेक काभ्रेको बनेपा र भक्तपुर बढी चर्चामा छन् । नाम पनि नेवा–ताम्सालिङ र बागमतीमा मतभेद नै छ ।
प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले नाम र राजधानी तोक्दा दीर्घकालीन प्रभाव पर्ने भएकाले राजनीतिक सहमतिबाटै तोकिने बताउनुभएको छ । दलगत र व्यक्तिगत स्वार्थमा अहिले हतारमा तोक्ने पछि पछुतो हुने अवस्था आउन नदिने गरी सहमति खोजीने उहाँले बताउनुभयो ।
प्रदेश ५
प्रदेश ५ मा को नाम लुम्बिनी र बुद्धभूमीबारे बहस छ । राजधानीमा बुटवल र दाङमा विवाद छ । स्थायी राजधानी बुटवल नै बनाउने या दाङ तोक्ने विषयमा नेकपाभित्रै निर्णय हुन सकेको छैन । मतभेद र क्षेत्रीय राजनीतिको रुपमा राजधानी जोडिएपछि निर्णय हुन नसकेको हो ।
‘केहीले दाङ र कसैले बुटवल हुनुपर्छ भन्दै गर्दा मतदान गर्ने हो भने कतै पनि दुई तिहाइ नपुग्ने चिन्ता छ’ नाम र राजधानी तोक्न गठन भएको समितिका सदस्य रमा अर्यालले भन्नुभयो । उहाँले नाम र राजधानी तत्काल टुंगो लाग्न गाह्रो रहेको पनि बताउनुभयो ।
‘कतिपय माननीयले बुटवल ठिकै त छ भन्नुभएको छ, अनि कतिपय अस्तित्वसँग जोड्दै पश्चिम (दाङ) लैजानैपर्छ भन्नेमा हुनुहुन्छ ।’ तर रायसुझाव लिन टोली जिल्ला जिल्ला जाने तयारी भैरहेको पनि उहाँले बताउनुभयो ।
नेपाली कांग्रेसले राजधानी नसार्न दबाब दिएको छ । ५ नम्बर प्रदेशको स्थायी राजधानी नै बुटवल हुनुपर्ने कांग्रेसको माग छ । प्रदेश पाँचको नाम लम्बिनी राख्न उपयुक्त हुने कांग्रेसको अडान छ ।
नाम र राजधानी तोक्न किन अलमल ?
प्रदेशको नामाकरणमा खासै विवाद नभए पनि राजधानीमा भने नेताहरुको आ–आफ्नै स्वार्थ देखिने गरेको छ । सत्तापक्ष भित्रकै र विपक्षी दलका सांसद समेत विभाजित हुँदा निर्णय गर्न भएको हो ।
प्रदेशको राजधानी र नाम तोक्ने अधिकार प्रदेश सभाकै हो । संविधानमा प्रदेशसभाको दुई तिहाइ बहुमतबाट निर्णय गरेर प्रदेश राजधानी र नाम तोक्न सक्ने व्यवस्था छ ।
यसैअनुसार तीन वटा प्रदेशले नाम र स्थायी राजधानी तय गरिसकेका छन् । संविधानको धारा २८८ मा भएको व्यवस्था अनुसार प्रदेशको नाम र स्थायी राजधानी सम्वन्धित प्रदेशसभाले निर्णय गरे बमोजिम हुने व्यवस्था छ । – ujyaaloonline

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।